पथरी शनिश्चरे, मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को फाइनलमा आयोजक पथरी–११ फुटबल क्लब प्रवेश गरेको छ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पथरी–११ ले ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि दौडमा स्थान सुरक्षित गरेको हो।

जाँतेमोडस्थित पथरी रंगशालामा भएको रोमाञ्चक खेलको २५औं मिनेटमा पथरी–११ का सौर्य राउत ले गरेको उत्कृष्ट गोल नै खेलको निर्णायक गोल साबित भयो। खेल अवधिभरि आयोजक टोलीले आक्रामक प्रदर्शन गरेको थियो।
उत्कृष्ट प्रदर्शनका लागि सौर्य राउतलाई म्यान अफ द म्याच घोषित गरियो। उनलाई पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता नवीनजङ्ग कार्की र पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विक ले संयुक्त रूपमा रु. ५,००० नगद र ट्रफी प्रदान गरे।
अब पथरी–११ ले उपाधिका लागि सिरहाको सलहेश युवा क्लब सँग फाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल खेल आगामी कार्तिक २२ गते (शनिबार) पथरी रंगशालामा हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले रु. ५ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु. २ लाख ५० हजार नगद, ट्रफी र मेडल पाउनेछन्। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।






























