झिलझिले माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण सुरु

0
189

झिलझिले,  झापाको ऐतिहासिक शैक्षिक संस्था झिलझिले माध्यमिक विद्यालयमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण सुरु भएको छ। विद्यालयका भूतपूर्व विद्यार्थीहरूको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो मन्दिर विद्यालयको गौरवसँगै विद्यार्थीहरूका लागि प्रेरणाको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

 

२०२४ साल माघ २० गते स्थापना भएको विद्यालयको परिसरमा बन्ने मन्दिरको शिलान्यास शुक्रबार (कात्तिक २१ गते) विधिवत रूपमा सम्पन्न गरिएको हो। शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज निरौला, शिवसताक्षी नगरपालिका–११ का वडा अध्यक्ष बहादुर आङ्बो, वडा–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुङ्गाना तथा भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोहन राई लगायत अतिथिहरूको उपस्थिति थियो।

शिलान्यासपछि आयोजित प्रार्थना सभामा बोल्दै वडा अध्यक्ष आङ्बो र फेउदिनले विद्यालयमा सरस्वती मन्दिर निर्माण हुनु विद्यालयको गौरवपूर्ण इतिहासमा नयाँ अध्याय थपिएको बताए। वडा अध्यक्ष फेउदिनले भने, “हामी जहाँ भए पनि विद्यालयप्रति माया छ, यही माया र भावनाले आज हामीलाई एउटै मंचमा ल्याएको हो।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले मन्दिरले विद्यार्थीहरूमा धार्मिक र सांस्कृतिक चेतना जगाउने विश्वास व्यक्त गरे। उनका अनुसार, “विद्या र संस्कृतिको संगम यही मन्दिर हुनेछ। अब विद्यार्थीहरूले यहाँ पढ्न मात्र होइन, संस्कार पनि सिक्नेछन्।”

भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष राईका अनुसार, मन्दिर आकर्षक कलात्मक ढाँचामा निर्माण गरिनेछ र गजुरसहित रंगीन सजावटमा विशेष ध्यान दिइनेछ। उनले आगामी सरस्वती पूजाको अवसरमा मन्दिरको अनावरण गर्ने योजना रहेको जानकारी दिए।

मन्दिर निर्माणमा करिब आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसका लागि नेपाल र विदेशमा रहेका भूतपूर्व विद्यार्थीहरूले सहयोग संकलन सुरु गरेका छन्। राईले सबै भूतपूर्व विद्यार्थी, अभिभावक र समुदायलाई यस पवित्र अभियानमा आर्थिक तथा श्रमदानमार्फत सहभागी हुन आह्वान गरे।

विद्यालयका प्रधानाध्यापक खेमराज निरौलाले भने, “यो योजना केवल मन्दिर निर्माण होइन, विद्यालयको सांस्कृतिक पहिचान र आदर्शको पुनर्जीवन पनि हो।”

कार्यक्रम भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोहन राईको अध्यक्षता र सञ्चारकर्मी बिनोद सापकोटाको सहजीकरणमा सम्पन्न भएको थियो।

विद्यालयका अनुसार, झिलझिले माध्यमिक विद्यालयका धेरैजसो भूतपूर्व विद्यार्थीहरू अहिले सरकारका उच्च पदस्थ अधिकारी, शिक्षाविद्, मन्त्री र प्रतिष्ठित व्यक्तित्वका रूपमा कार्यरत छन्।

शिलान्यास समारोहपछि विद्यालय परिसरमा उत्सवमय वातावरण देखिएको थियो। विद्यार्थीहरू उत्साहित बनेका छन् भने शिक्षक र अभिभावकहरू विद्यालयको नयाँ पहिचानप्रति गौरवान्वित महसुस गरिरहेका छन्।

भूतपूर्व विद्यार्थी झमक वहादुर गौतमले भने, “हाम्रो एउटै लक्ष्य छ — विद्याको प्रतीक देवी सरस्वतीको कृपाले झिलझिले माध्यमिक विद्यालय सधैं ज्ञानको आलोक बनेर उज्यालो फैलाओस्।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here