अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिका–१ नं. वडाले जितेको छ ।
स्थानीय नमूना खेलमैदानमा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिका–११ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ नं. वडाले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । जीतसँगै विजेता टिम अर्जुनधारा–१ले नगद पुरस्कार ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजेताको नगद पुरस्कार मचिन्द्र सुब्बाको परिवारबाट सौजन्य भएको हो ।
त्यसैगरी उपजिेता अर्जुनधारा–११ले नगद पुरस्कार ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । उपविजेताको नगद पुरस्कार स्थानीय सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालबाट सौजन्य भएको हो ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी विक्रम गोले(अर्जुनधारा–१), उत्कृष्ट गोलरक्षक सुवास राई(अर्जुनधारा–१), उत्कृष्ट रक्षक रञ्जित राई(अर्जुनधारा–१), उत्कृष्ट मिडफिल्डर टेकराज तिलीङ(अर्जुनधारा–११), उत्कृष्ट फरवार्ड समिर सुब्बा (अर्जुनधारा–१), उत्कृष्ट प्रशिक्षक उपेन्द्र बस्नेत(अर्जुनधारा–१), सर्वाधिक गोलकर्ता बाबुराम धिमाल(अर्जुनधारा–११) र फाइनल खेलको उत्कृष्ट खेलाडी युवराज गिरी (अर्जुनधारा–११) भएका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, विभिन्न विधागत उत्कृष्ट खेलाडी र फाइनल खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार क्रमश तीन हजार पाँच सय, जनही दुई हजार पाँच सय र एक हजार पाँच सयसहित ट्रफी प्राप्त गरेका थिए ।
आयोजक गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय कुमारप्रसाद उप्रेती र खगेन्द्र इङनाम, कार्यपालिका सदस्य गौरीमाया चिमरीया, जिल्ला प्रशासन कार्यालय झापाका शाखा अधिकृत रुपक काफ्ले, सशस्त्र प्रहरी बल शनिश्चरे बेस प्रमुख प्रहरी नायव उपरीक्षक गंगादत्त पन्त, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, फिफा रेफ्री श्याम दनुवारलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

सोही कार्यक्रममा दाता मचिन्द्र सुब्बाका भाइ एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्घिमान लिम्बू, प्रतियोगितामा सहभागी ज्येष्ठ भेट्रान खेलाडी अर्जुनधारा–२का कुमार सापकोटालगायतलाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।

यता सोही दिन सम्पन्न अर्जुनधारा नगरपालिका जनप्रतिनिधि–कर्मचारी समूह र अर्जुनधारा प्रेस क्लबबीच भएको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधि–कर्मचारी समूह २–० गोल अन्तरले विजयी भएको छ ।
जनप्रतिनिधि–कर्मचारी समूहको जीतका लागि उपेन्द्र बस्नेत र बिमल मोहोराले गोल गरेका थिए । जीतसँगै विजेता टिमले नगद पुरस्कार पाँच हजारसहित ट्रफी प्राप्त गरेका थिए ।
























