छविराज ढकाल
पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे -१ को प्रस्तावित पथरी रङ्गशालामा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ उपाधि सलहेस फुटबल क्लब, सिराहाले उचालेको छ।
आज शनिबार “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका आयोजना भएको उक्त
प्रतियोगिताको फाईनलमा आयोजक पथरी ११ फुटबल क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सलहेस फुटबल क्लबले उपाधि चुमेको हो।

सलहेस फुटबल क्लबले नगद ५ लाख रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता पथरी -११ फुटबल क्लबलाई २ लाख ५० हजार रूपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।
उक्त खेलको १८ मिनेटमा आयोजक पथरी ११ फुटबल क्लबका खेलाडी धिरेन क्षेत्रीले पेनाल्टी सुट प्रहार गर्ने अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमको खाता खोल्न सफल भएका थिए । उता, मध्यान्नपछि सिराहाको सलहेस फुटबल क्लबले ५७ औं मिनेटमा पेनाल्टी हान्ने अवसरलाई सलहेस फुटबल क्लबका खेलाडी जय गुरूङले सदुपयोग गर्दै खेल बराबरीमा रोकेका थिए। त्यस्तै, सलहेसकै खेलाडी समीर तामाङले ६८ औं मिनेटमा अर्को गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाए सँगै सलहेस फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२ को उपाधि आफ्ना पोल्टामा पारेको थियो।
आजको खेलमा सलहेस फुटबल क्लबका खेलाडी जय गुरूङ म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी युकेश तामाङ, उदयमान खेलाडी समीर क्षेत्री , सर्वाधिक गोलकर्ता विल्सन रिचार्ड, आदि घोषित भए। उनीहरूलई विधागत रूपमा १० हजार रूपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो।
३ हजारभन्दा बढी दर्शकहरूले अवलोकन गरेको उक्त प्रतियोगिताको प्रतिस्पर्धात्मक फाईनल खेलको मोरङ क्षेत्र नं ३ का निवर्तमान सांसद डा सुनिल शर्मा तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले बेलुन उडाएर उद्घाटन गर्नुभएको थियो।
उद्घाटन गर्नुहुँदै डा सुनिल शर्माले नेपाली क्रिकेट लगायतका विभिन्न खेलहरूमा पछिल्लो समयमा निरन्तर उन्नति गरीरहेको चर्चा गर्नु हुँदै उहाँले पथरी शनिश्चरे नगरको स्थानीय खेल विकास गर्न आफ्नो तर्फवाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्बोधनका क्रममा डाक्टर शर्माले उक्त रङ्गशालाको स्तरोन्नति र खेलाडीको खेल विकासका लागि आफ्नो तर्फबाट सदैव सहयोग भइरहने वचन दिनुभएको थियो।
सोही क्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले स्थानीय खेलकुदको विकास, खेलाडीको खेल क्षमता अभिवृद्धि र नगरको शान उच्च राख्दै खेलाडीहरूले अनुशासन लाई ध्यान दिएर खेल भइरहेकोमा प्रशंसा गर्नुभयो। उक्त अवसरमा राष्ट्रिय खेलाडी दिपा न्यौपानेलाई १५ हजार रूपैयाँ नगद सहित सम्मानित गरिएको थियो भने सोही खेलको मध्यान्तरमा भ्वाइस अफ किड्सका फाईनालिस्ट निश्चल लिम्बुले – ‘ रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ‘ बोलको राष्ट्रिय भाव ओतप्रोत भएको गीत गाएर दर्शकलाई राष्ट्रिय भक्ति जागृत गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन बिकले गर्नुभएको थियो।































