शिवसताक्षीमा एमालेको जनजागरण अभियान सुरु

0
64

झापा, हालैको ‘जेन्जी आन्दोलन’पछि नेकपा (एमाले) ले देशव्यापी जनजागरण अभियान सुरु गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएका आक्रमण र आगजनी घटनाको विरोधस्वरूप सुरु गरिएको यो अभियान शनिबार झापाको शिवसताक्षी नगरपालिकाबाट उत्साहजनक रूपमा प्रारम्भ भएको हो।

एमालेका अनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवामध्ये केहीले सुरु गरेको जेन्जी आन्दोलनमा ‘घुसपैठ’ भएको ठहर पार्टीले गरेको छ। सो आन्दोलनका क्रममा निजी सम्पत्ति, व्यावसायिक प्रतिष्ठान र विभिन्न दलका कार्यालयमा तोडफोड तथा आगजनी भएकाले त्यसको विरोधमा जनजागरण अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ।

‘उक्त घटनाको निष्पक्ष छानबिन होस्, एमाले र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दोषी ठहरे जस्तोसुकै कारबाही भोग्न तयार छन्,’ पार्टीले अघिल्लै वक्तव्यमा उल्लेख गरेको छ।

पार्टीको निर्देशनअनुसार कार्तिक २२ गतेदेखि सुरु भएको अभियान वडास्तरदेखि केन्द्रसम्म सञ्चालन हुने जनाएको छ। शिवसताक्षीमा पहिलो दिनको अभियान अत्यन्त उत्साहजनक भएको नगर कमिटीका सचिव तथा संगठन विभाग प्रमुख लक्ष्मी गुरागाईले बताए। उनले भने, ‘पहिलो दिन सबै वडामा उल्लेखनीय जनसहभागिता रह्यो।’

नगरपालिकाका सबै ११ वडामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

  • वडा नं. १ मा जिल्ला सदस्य सत्यनारायण राजवंशीको सहजीकरणमा मोटरसाइकल र्‍याली, करिब १०० सदस्य सहभागी।

  • वडा नं. २ मा डम्बर अधिकारीको सहजीकरणमा विस्तारित बैठक, १०५ जना सहभागी।

  • वडा नं. ३ मा धनबहादुर थेवेको संयोजनमा अन्तरक्रिया कार्यक्रम।

  • वडा नं. ४ को बोलोचोक बजारमा चिन्तन पाठकको सहजीकरणमा सरसफाइ अभियान।

  • वडा नं. ५ मा राधाकृष्ण खनालको सहजीकरणमा विस्तारित बैठक।

  • वडा नं. ६ मा राजीव घिमिरेको नेतृत्वमा शिवगञ्ज बजारलगायत क्षेत्रमा मोटरसाइकल र्‍याली, करिब २५० सहभागी।

  • वडा नं. ७ मा जुनु महराको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम, ७५ सहभागी।

  • वडा नं. ८ मा पूर्वसांसद तारा सोम याङयाको संयोजनमा विस्तारित बैठक, ३५ सहभागी।

  • वडा नं. ९ मा चिल्लागढ धाममा सरसफाइ कार्यक्रम, जहाँ सांसद एलपी सावा लिम्बु, नगर प्रमुख मेगाहाङ थोप्रा, नगर अध्यक्ष मेदनी दङ्गाललगायतको उपस्थिति थियो।

  • वडा नं. १० मा तुलसीराम मैनालीको संयोजनमा बृहत मोटरसाइकल र्‍याली, करिब ३५० सहभागी।

  • वडा नं. ११ मा भोजकुमारी नेपालको संयोजनमा सताक्षी धाममा सरसफाइ कार्यक्रम, २०० भन्दा बढी सहभागी।

पार्टीका स्रोतका अनुसार शिवसताक्षी नगरपालिकामा हाल २,४०० संगठित सदस्य छन्।

एमालेको यो जनजागरण अभियान स्थानीय तह हुँदै केन्द्रसम्म पुग्नेछ। कार्तिक २५ गते स्थानीय तहका विशेष कार्यक्रम र मङ्सिर २९ गते झापा जिल्लास्तरीय मुख्य कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here