झापा, झापाको अर्जुनधारा नगरपालिका–४ रातेखालमा सामान्य विवादका क्रममा एक युवकले अर्का युवकलाई कुटपिट गरी घाइते बनाएका छन्।
प्रहरीका अनुसार सोही स्थानका २२ वर्षीय सागर दनुवारले १९ वर्षीय प्रदीप दनुवारलाई मदिरा सेवनपश्चात सामान्य विषयमा भएको विवादका क्रममा दाउराको चिर्पटले प्रहार गरेका हुन्।
घटनामा प्रदीप दनुवारको निधारमा चोट लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि शनिश्चरेस्थित शंकर अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाबारे सूचना राति करिब १०स्२० बजे प्राप्त भएपछि प्रहरी निरीक्षक नेत्र चौलागाईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। कुटपिट गरेपछि सागर दनुवार फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घाइतेको उपचारमा उनका भाई सुशील दनुवार र सागरका बुबा बानीलाल दनुवार संलग्न रहेको जनाइएको छ। घटना स्थल प्रहरी चौकी शनिश्चरेबाट करिब सात किलोमिटर पश्चिम पर्ने बताइएको छ।































