सलकपुरको सुन्तला बोटबाटै बिक्री

0
113

गणेश कोइराला/ इलाम ।

सुन्तलाको धेरै उत्पादन हुने भएकाले ‘गोल्डेन भ्याली’ का रूपमा चिनिएको इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खान जानेको लर्को लाग्न थालेको छ । मंसीर नलाग्ने सलकपुरमा सुन्तला पहेंलपुर हुन थाले पछि सलकपुरको रसिलो सुन्ताला खान मानिसहरु बगानसम्म पुग्ने गरेका हुन् ।

झापासंग सिमाना जोडीएको रोङ गाउँपालिकाको पूर्वी क्षेत्रमा रहेको सलकपुरमा भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेका कारण आन्तरिकसहित भारतको पश्चिमबंगाल क्षेत्रका पर्यटकहरु सलकपुर पुग्ने गरेका छन् । नेपालमै परिश्रम गरे सुन फल्छ भन्ने उदाहरण भनेका छन्– सुन तोला झैं मूल्यमा बिक्रि गरिरहेका सुन्ताला कृषक मदन बिमली ।

रोङ गाउँपालिका–६ स्थित सलकपुर चोकका किसान बिमलीले स्थानीय जातको सुन्तला खेतीबाट उल्लेखनीय आम्दानी गर्न सफल भएका छन्। बिमलीले करिब ९ रोपनी जग्गामा २०६८ सालदेखि सुन्तला खेती शुरु गरेका थिए। शुरुका वर्षमा उत्पादन र बजार व्यवस्थापनमा केही चुनौती खेप्नुपरे पनि अहिले उनी स्थायी आम्दानीको स्रोतका रूपमा यस व्यवसायमा अग्रस्थानमा रहेका छन् ।

२०७३ सालदेखि नियमित रूपमा फलदिन थालेपछि बिमलीले हरेक वर्ष करिब १४ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। हाल उनको बगैँचाबाट वार्षिक करिब दुई सय क्विन्टल सुन्तला उत्पादन हुने गरेको छ। इलाम, झापा लगायतका जिल्लामा स्थानीय जातकै सुन्तलाको स्वाद र गुणस्तर मन पराइने भएकाले बजारमा राम्रो मूल्य पाउने गरेका छन्।

सुन्तला टिप्ने, छानेर प्याक गर्ने र बिक्रीका क्रममा बिमलीसँगै श्रीमती ललिता बिमली पनि सक्रिय रहन्छिन्। उनले खेतीका हरेक चरणमा साथ दिँदै घरेलु श्रमको सदुपयोगमार्फत परिवारको आयमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन् । किसान बिमलीका अनुसार, सुन्तला खेती शुरु गर्दा अनुभव नहुँदा धेरै कठिनाइ आए पनि अहिले यो पेशा नाफामुखी मात्र नभई आत्मसन्तोषको विषय बनेको छ।

उनको बगैँचामा सात–आठ जना स्थानीयवासीले आंशिक रोजगारी पाएका छन्। रोपाइँ, मलझार, हेरचाह र टिपाइँका क्रममा उनले कामको अवसर उपलब्ध गराइरहेका छन्। स्थानीय स्तरमा उत्पादित सुन्तलाको खपत इलाम र झापा आसपासकै बजारमा हुने गरेको छ। बिमलीले अब उत्पादन विस्तारसँगै सुन्तला प्रशोधन र रस उत्पादन तर्फ लाग्ने योजना बनाइरहेका छन्।

रोङ गाउँपालिकाले पनि सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै प्राविधिक सहयोग, तालिम र कृषक प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। गाउँपालिकाको सहयोग र किसानको मेहनतले अहिले सलकपुर क्षेत्र सुन्तला उत्पादनको केन्द्र बन्दै गएको स्थानीयले बताएका छन्। सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि मानिसहरु आउने गरेको गाउँपालिकाले जनाएको छ ।

सलकपुर, कुवापानी र जौबारीलगायतका क्षेत्रमा प्रतिहेक्टर १० दशमल तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here