पूर्वाञ्चल : मेरा अनुभूति र सम्मानका शब्दहरू

0
65

समय गतिशील छ, तर समयसँगै अगाडि बढ्ने संस्थाहरू मात्र इतिहासका पानामा दिगो रूपमा अंकित हुन्छन् । जनताको भावना, समाजका धड्कन र सत्यका पक्षमा अविचल अडान लिएर अघि बढ्न सक्ने माध्यमहरू नै दीर्घकालीन विश्वासको आधार बन्न सक्छन् ।

यिनै मूल्य र मान्यतामा अघि बढ्दै आएको पूर्वाञ्चल दैनिक आज ३१औं वर्षमा प्रवेश गर्दैछ । २०५२ साल मंसीर १ गतेदेखि नियमित रूपमा प्रकाशन यात्रा शुरु गरेको यस पत्रिकाले यो तीनदशकको अवधिमा केवल समाचार मात्रै दिएन, यसले समाजलाई दिशा, चेतना र निरन्तरता प्रदान ग¥यो ।

यस पत्रिकासँग मेरो नाता पाठकको रूपमा शरु भए पनि आज म यसमा स्वास्थ्य स्तम्भकार को रूपमा योगदान गर्न पाउँदा गर्व अनुभव गर्छु । कतिपय क्षण जीवनमा अत्यन्त साधारण देखिए पनि हृदयमा गहिरो प्रेरणा जगाइदिन्छन् । एकदिन कसैले सहजै भने– ‘तपाईंलाई त कतै देखे जस्तो लाग्छ, कहाँ हो ?’ म पनि मुस्कुराएँ र भनेँ– ‘पूर्वाञ्चल पत्रिकामै त केही दिनअघि फोटो देखेको थिए ।’

यो सामान्य संवाद जति साधारण लागे पनि त्यसले मलाई अत्यन्त ठूलो प्रोत्साहन दियो । एक स्तम्भकारका लागि पाठकले आफ्नो काम पहिचान गर्नु स्वयम्मा एक ठूलो ऊर्जा हो । त्यही ऊर्जा त्यही प्रोत्साहन र सहकर्मीहरूको विश्वासले आज पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कलम चलाउँदैछु ।

यसै अवसरमा पूर्वाञ्चल दैनिकको सम्पादकीय टिमप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु । आदरणीय लक्ष्मण सर, एकराज गिरी सर, सुरेन्द्र जी, नरेन्द्र जी, रुपा बहिनी र सन्तोष भाइलाई मनदेखि आभार व्यक्त गर्दछु ।

एक पत्रिकाको मेरुदण्ड नै सम्पादकीय टोली हो । सन्तुलन, तथ्यगत अभिव्यक्तिको स्वतन्त्रता र सामाजिक दायित्वलाई एकैसाथ अघि बढाउन सक्ने शक्ति यही टिमबाट उत्पन्न हुन्छ । त्यस्तै पत्रिकाको अविरल प्रकाशनमा दिनरात खटिने प्राविधिक तथा व्यवस्थापनका सबै सहकर्मीहरू पनि समानरूपमा प्रशंसाका पात्र छन् ।

सम्पादक र प्राविधिक दुबै पाटो एकअर्काको परिपूरक शक्ति हुन् । यिनै समन्वयित प्रयासहरूका कारण पूर्वाञ्चल दैनिक आजको उचाइसम्म आइपुगेको छ । पत्रकारिता केबल सूचना सम्प्रेषणको माध्यम होइन, यो समाजको दर्पण हो, वाणीविहीनका आवाज हो र सत्यका पथप्रदर्शक हो । यही निष्ठा, यही मूल्य र सत्यताका कारण पूर्वाञ्चल दैनिक जनमानसमा स्थापित भएको छ । राजनीतिक परिवर्तनका तुफान, सामाजिक संवेदनाका उतार–चढाव र प्रविधिको तीव्र शृंखलाबीच पनि यस पत्रिकाले आफ्नो पहिचान, प्रभाव र विश्वसनीयता कायम राख्नु पत्रिकाको टिमको अनुशासन, लगन र कर्तव्यनिष्ठाको प्रमाण हो ।

स्वास्थ्य स्तम्भकार भएर लेख्दा म प्रत्येक शब्दमा जिम्मेवारीको बोझ महशुस गर्छु । स्वास्थ्य केबल औषधि वा उपचारको विषय होइन, यो जीवनशैली, चेतना, खानपान, मानसिक अवस्था र सामाजिक व्यवहारको सम्मिश्रण हो । त्यसैले प्रत्येक लेख तयार पार्दा म पाठकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य मनमा बोकेर कलम चलाउँछु ।

पूर्वाञ्चल दैनिकले यस्तो विषयलाई निरन्तर ठाउँ मात्र दिएन, यसले ज्ञान र चेतना प्रसारमा आफ्नो सामाजिक उत्तरदायित्व पनि पूरा गरिरहेको छ । लेखकहरूलाई अभिव्यक्ति दिने वातावरण, सम्मान र अवसर प्रदान गर्नु कुनै संस्थाको ठूलो उपलब्धि हो । म त्यही अवसरप्रति गौरव अनुभूति गर्छु ।

३१ वर्षको यात्रा कुनै संयोग होइन । यो संस्थाको संगठनात्मक स्थिरता, व्यवस्थापनको दूरदृष्टि, सम्पादकीय निष्ठा र पाठकको विश्वासको संगम हो । समयले बद्लिँदै जाँदा पत्रिकाले पनि आफूलाई निरन्तर अद्यावधिक गरिरहनु अत्यावश्यक हुन्छ । आज डिजिटल युगको प्रतिस्पर्धामा पनि पूर्वाञ्चल दैनिकले आफ्नो विशिष्ट पहिचान जोगाइराख्नु सफलताका महत्वपूर्ण अध्याय मध्ये एक हो ।

भोलिका दिनमा पत्रिका अझ प्रविधिमैत्री, अझ समावेशी र अझ प्रभावकारी बनोस् – यही हाम्रो सामुहिक अपेक्षा हो । यस विशेष अवसरमा म पूर्वाञ्चल दैनिकका सम्पूर्ण सहकर्मीहरू, पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा योगदान गरिरहनुभएका सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु ।

३१औं वर्षमा प्रवेश गर्नु गौरव मात्र होइन, जिम्मेवारी पनि हो । यही जिम्मेवारीले पत्रिकालाई अझ सबल, विश्वसनीय र न्यायप्रति निष्ठावान बनाओस् । मलाई स्वास्थ्य स्तम्भकारको रूपमा पहिचान दिलाइदिने, प्रोत्साहित गर्ने र निरन्तर साथ दिने सम्पूर्ण टिमप्रति हृदयदेखि आभार व्यक्त गर्दछु ।

पूर्वाञ्चल दैनिकसँगको मेरो सम्बन्ध केबल पेशागत नभई समर्पण, भावना र कर्तव्यको यात्रा पनि हो । ३१औं वर्षको सफल यात्राबापत पूर्वाञ्चल दैनिकलाई हार्दिक बधाई । यसको प्रगति, समृद्धि र दीर्घायुका लागि हार्दिक शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here