बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–३ मा रहेको मेची दृष्टि आई हस्पिटल उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।
कर प्रणालीको सार लगानीको आधार भन्ने मूल नाराका साथ १४औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भद्रपुरले झापा कार्य क्षेत्र अन्तर्गत सबैभन्दा बढी कर (आयकर दाखिला गर्ने ) संस्थाको रुपमा मेची दृष्टि आई हस्पिटल सम्मानित भएको हस्पिटलका अध्यक्ष राम उप्रेतीले जानकारी दिए ।

उत्कृष्ट करदाताको रुपमा मेची दृष्टि आई हस्पिटल लगातार दोस्रो पटक सम्मानित भएको हो । आन्तरिक राजश्व कार्यालय भद्रपुरमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालको आतिथ्य रहेको थियो ।

सोही अवसरमा मेची दृष्टि आई हस्पिटललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो । उक्त सम्मान हस्पिटलका अध्यक्ष उप्रेतीले ग्रहण गरेका थिए ।
यसैबीच मेची दृष्टि आई हस्पिटलले आफ्ना सेवाहरुलाई अझ प्रभावकारी बनाउदै बिरामीको सेवालाई पहिलो प्रथमिकतामा राख्ने जनाएको छ ।































