दोस्रो याम्बातपुङ गोल्डको च्याम्पियन चौबन्दी एफसी एकतप्पा

0
79

युद्धबहादुर बोहोरा
पाँचथर,

दोस्रो याम्बातपुङ गोल्ड कप २०८२ को पुरुषतर्फको उपाधि इलामको चौबन्दी एफसी एकतप्पाले हात पारेको छ। फाल्गुनन्द–५, फाक्तेपस्थित याम्बातपुङ खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा चौबन्दीले डिएफसी देउमाई इलामलाई ५–३ को अन्तरको जितसँगै पराजित गर्दै उपाधि चुमेको हो।

खेलको सुरुदेखिनै आक्रामक रणनीतिमा उत्रिएको चौबन्दीले निरन्तर दबाब सिर्जना गर्‍यो। देउमाईले अवसर पाएपनि अन्तिम क्षणसम्म चौबन्दीको आक्रमण रोक्न नसक्दा उपाधिबाट वञ्चित रह्यो। उत्कृष्ट प्रदर्शन गर्ने चौबन्दीका गोलकिपर ‘म्यान अफ द म्याच’ घोषित भए। विजेता चौबन्दी एफसीले ७५ हजार १५० रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले ५० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पायो।

महिला तर्फको उपाधि सुकेपोखरी एफसीले हात पार्यो। सुकेपोखरीले आयोजक ब्राइट स्टार एफसीलाई ३–१ ले हराउँदै च्याम्पियन बनेको हो। विजेता टोलीले १५ हजार १५० रुपैयाँ तथा उपविजेता ब्राइट स्टारले १० हजार १५० रुपैयाँ पुरस्कार प्राप्त गरे।

यसैगरी, भेट्रान्सतर्फ बुद्ध स्पोर्टिङ क्लब रानिटारले आयोजक ब्राइट स्टार एफसीलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको छ। विजेता रानिटारले २० हजार १५० नगद पुरस्कार प्राप्त गरे भने उपविजेताले १० हजार १५० रुपैयाँ पायो।

फाइनल खेल अवलोकनका लागि स्थानीय खेलप्रेमी, समुदायका अगुवा तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ। खेलमैदानभरि उत्साह र उमङ्गपूर्ण वातावरण देखिएको थियो।

याम्बातपुङ एफसी ब्राइट स्टार युवा क्लबद्वारा आयोजित प्रतियोगितालाई १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१औँ जन्मजयन्तीको अवसरमा कार्तिक २५ गतेदेखि सुरु गरिएको थियो। पुरुष, महिला र भेट्रान्स गरी इलाम तथा पाँचथरका १६ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए।

समापन समारोहमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, वडा–५ का वडाध्यक्ष बिष्णु कुमार चेम्जोङ र आयोजक अध्यक्ष बलीराज नेम्वाङले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका सचिव सालाहाङ नेम्वाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here