दोस्रो याम्बातपुङ गोल्डकप २०८२ को आय–व्यय सार्वजनिक

0
55

युद्धबहादुर बोहोरा
पाँचथर,

याम्बातपुङ एफसी ब्राइट स्टार युवा क्लबद्वारा आयोजित दोस्रो याम्बातपुङ गोल्डकप २०८२ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ। कार्तिक २५ गतेदेखि सञ्चालन भई आइतबार सम्पन्न प्रतियोगितामा पुरुष, महिला र भेट्रान्स गरी १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि क्लबले प्राप्त आय तथा खर्च विवरण सार्वजनिक गर्दै पारदर्शिता कायम गरेको जनाएको छ। देश–विदेश तथा स्थानीय दाता, क्लब, संघ–संस्था र खेलप्रेमीहरूबाट प्राप्त सहयोगलगायत विभिन्न शिर्षकबाट प्राप्त रकम गरी प्रतियोगिताबाट जम्मा आय ८ लाख ७४ हजार २४६ रुपैयाँ रहेको क्लबले जानकारी गराएको छ। आय मध्ये हाल वैदेशिक रोजगारमा रहेका यस ठाउँका युवाहरुबाट ३ लाख ५६ हजार ३७० रुपैयाँ उपलब्ध भएको सचिव सालाहाङ नेम्वाङले जानकारी गराए ।

प्रतियोगिता आयोजनाका क्रममा मैदान व्यवस्थापन, खेलाडी व्यवस्था, खानपान, पुरस्कार, ट्रफि–मेडल, साउण्ड सिस्टम, भाडा, खाना–खाजा, स्वास्थ्यकर्मी, रेफ्री, स्वयंसेवक, लाइभ प्रसारण तथा अन्य प्राविधिक तथा प्रशासनिक खर्च गरी जम्मा व्यय ८ लाख ३८ हजार ३१८ खर्च भएको क्लबले जनाएको छ। आय–व्यय समायोजनपछि प्रतियोगिताबाट जम्मा बचत ३५ हजार ९२८ रुपैयाँ भएको क्लबले विवरण सार्वजनिक गरेको छ।

क्लबका अनुसार प्रतियोगिता सञ्चालन तथा समापनमा दाताहरू, स्थानीय समुदाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी रेफ्री, खेलाडी, स्वयंसेवक तथा दर्शकहरूको निरन्तर सहयोगले महत्वपूर्ण भूमिका खेलेको थियो। क्लबले सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यसैगरी साथ–सहयोगको अपेक्षा व्यक्त गरेको क्लबका अध्यक्ष बलीराज नेम्वाङले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here