शिवशताक्षीमा कांग्रेसको पहलमा बृहत् स्वास्थ्य शिविर हुँदै

0
132

झापा ।
झापा–शिवशताक्षीमा नेपाली कांग्रेसको पहलमा बृहत् स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। नेपाली कांग्रेस शिवशताक्षी नगर समिति र नोवेल मेडिकल शिक्षण अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा मंसिर ८ गते सोमबार शिवगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा शिविर सञ्चालन हुनेछ।

नगर सभापति अशोक बस्नेतका अनुसार स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कांग्रेसले वार्षिक कार्यतालिकाअनुसार कार्यक्रम अगाडि बढाएको हो। पछिल्ला वर्षमा समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न पार्टीले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइरहेको उनले बताए।

विद्यालयले अभिभावक तथा विद्यार्थीले शिविरबाट लाभ उठाउन एक दिन बिदा दिने निर्णय गरेको छ। विद्यालय प्रशासनका अनुसार सो बिदा पछि हिउँदे बिदाबाट कटौती गरिनेछ।

१५ भन्दा बढी विशेषज्ञ सेवा उपलब्ध

शिविरमा जेनेरल मेडिसिन, मुटुरोग, फोक्सो रोग, प्रसूति–स्त्रीरोग, हाड–जोर्नी तथा नसारोग, इएनटी, बालरोग, दन्तरोग, रेडियोलोजी, छालारोग, मानसिक रोग, जेनेरल सर्जरी, आँखाको जाँच, ECG तथा प्रयोगशाला सेवासहित १५ भन्दा बढी सुविधा उपलब्ध हुनेछन्।
मुटुको इको, भिडियो एक्स–रे, रगत, खकार, दिसा तथा पिसाब परीक्षण पनि गरिनेछ।

व्यवस्थापनका लागि पूर्ण तयारी

कार्यक्रमका लागि १४ कोठा, १४ टेबल, ४५ कुर्सी तथा आवश्यक विद्युत् व्यवस्थाको तयारी गरिँदैछ। महिला, पुरुष, १४ वर्षमुनिका बालबालिका तथा ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै नाम दर्ता कक्ष रहनेछन्। बिरामी जाँचका लागि ४ वटा खाट राखिनेछ।

शिविर सञ्चालनमा २० जना स्वयंसेवक खटाइनेछन्, जसले नाम दर्तादेखि विभागगत व्यवस्थापन र बिरामी सहयोगसम्मका कार्य सम्हाल्नेछन्।

आयोजकका अनुसार शिविरबाट कन्काई नगरपालिका, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाका बासिन्दाले सेवा पाउनेछन्। शिविरमा कम्तीमा ५ हजारले स्वास्थ्य परीक्षण गराउने अनुमान गरिएको छ।

शल्यक्रिया र औषधि वितरण पनि

गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक परे न्यूबेल मेडिकल कलेजले भारी छुटमा शल्यक्रिया सेवा उपलब्ध गराउने चिकित्सक डाक्टर राजेश नेपालले जानकारी दिए। शिविरमा उपलब्ध हुने औषधि निःशुल्क वितरण गरिनेछ।

नेपाली कांग्रेस शिवशताक्षीले नगरवासीलाई समयमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ। पार्टीले यस्ता सामाजिक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here