विराटनगर, नेपाल सरकार गृहमन्त्रालयको बढुवा समितिले कार्तिक २८ गते जारी गरेको पत्रअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएपछि कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा विशेष धन्यवाद तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द अधिकारी, प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेल, साथै मोरङ, सुनसरी, झापा, इलाम, उदयपुर, धनकुटा, ट्राफिक कार्यालय इटहरी र विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुखलगायत दर्जनौँ प्रहरी अधिकृत तथा प्रहरी जवान सहभागी थिए।
उपस्थित सबैले एआईजी सिफारिसमा परेका डीआईजी कार्कीलाई व्यवसायिक तथा पारिवारिक जीवनमा उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्मानसहित धन्यवाद ज्ञापन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थिति भए पनि प्रहरी संगठन “सत्य, सेवा, सुरक्षितम्” मूलमन्त्रमा अडिग रहँदै कोशी प्रदेशको सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।
उनले प्रदेशका सबै प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई इमान्दार, कर्तव्यनिष्ठ र नागरिक प्रति उत्तरदायी रहन आह्वान गर्दै सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै शारीरिक, मानसिक र व्यावसायिक रूपमा सक्षम बन्न आग्रह गरे। “कठिन परिस्थिति आएका बेला पनि विचलित नहुनु नै प्रहरीको पहिचान हो,” उनले बताए।
कार्यक्रममा एसएसपी दीपक पोखरेलले एआईजी सिफारिसमा परेका कार्कीको नेतृत्व, धैर्य, दुरदर्शिता र संगठनप्रति देखाएको समर्पणको प्रशंसा गरे।
उनले कार्कीले कोशी प्रदेशमा कार्यरत प्रहरीलाई दिएको मार्गनिर्देशन, अभिभावकत्व, हौसला र सहयोग अमूल्य रहेको उल्लेख गर्दै — “हामी सबैको तर्फबाट वहाँको पेशागत तथा व्यक्तिगत जीवनमा निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछौं,” भने।
धन्यवाद तथा शुभकामना कार्यक्रममा कोशी प्रदेशका पहाडी जिल्लाका जिल्ला प्रहरी प्रमुखहरू तथा “क” स्तरका प्रहरी इकाइ प्रमुखहरू पनि भर्चुअल माध्यममार्फत सहभागी भएका थिए।





























