विराटनगर।

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक–१ का कुमार गौतम र मोरङ उर्लाबारी–८ की ललिता धिमाललाई ८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–५ बाट भारत मध्येपुरका नरेश पासवानलाई ६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का प्रफुल्ल राजवंशीलाई ४ ग्राम सहित र अस्थायी प्रहरी पोष्ट बसपार्कले अर्जुनधारा–१ का प्रदिप घिमिरे र मेचिनगर–१५ का युवराज लिम्बूलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको दुहबी–१० स्थितबाट १० ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित भारतीय नागरिक मो. हैदर मिया, सिन्टु कुमार पासवान, सुमित कुमार पासवान र गौरव झालाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी (सिमा), लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले धरान–६ का कर्णबहादुर भण्डारीलाई ०.४३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































