शुभ बुधबार कार्यक्रम–२०८२ का विद्यार्थीहरुको सुखानी क्षेत्रमा अध्धयन भ्रमण

0
59
अर्जुनधारा।
झापाको अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न मेमोरियल बोर्डीङ स्कूलले सञ्चालन गरेको शुभ बुधबार कार्यक्रम–२०८२का सहभागी विद्यार्थीहरुले बिहीबार झापा र इलाम जिल्लाको सिमानामा रहेको सुखानी क्षेत्रमा अध्धयन भ्रमण गरेको छ ।
कार्यक्रमका प्रशिक्षक एवम् पत्रकार अमित खम्बू र शिक्षक अर्जुन दाहालको संयुक्त नेतृत्वमा उनीहरुले अर्जुनधारा नगरपालिका–३ र माई नगरपालिका–४मा रहेको उक्त क्षेत्रमा अध्धयन भ्रमण गरेका हुन् ।
न्याय, समानता र प्रजातन्त्र बहाली गर्ने आन्दोलनको सिलसिलामा २०२९ साल फागुन २१ गते तत्कालिन् शासकबाट मारिएका पाँच जना शहीद क्रमश रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठसँग जोडिएको घटनासँगै पर्यापर्यटनको माध्यमबाट हाल विकास भइरहेको सुखानी पर्यापर्यटन क्षेत्रको महत्व बारे विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले उक्त भ्रमणको आयोजना गरिएको प्रशिक्षक खम्बूले बताए ।
विद्यार्थीहरुलाई प्रशिक्षक खम्बूसँगै शिक्षक दाहालले सुखानीको घटनाक्रम बारे स्पष्ट पारेका थिए । सोही क्रममा विद्यार्थीहरुले तत्कालिन् समयमा भएको घटनाक्रम, त्यसक्षेत्रको भौगोलिक अवस्था, मानव बस्ती र विकास निर्माण बारे जिज्ञासा राखेका थिए ।
प्रत्येक चौमासिकमा पालिकाको विभिन्न प्राकृतिक, धार्मिक एवम् ऐतिहासिक स्थलहरुको अध्धयन भ्रमण गर्दै आएको टोलीले यस अघि अर्जुनधारा नगरपालिका–२स्थित सहकाले क्षेत्रमा अध्ययन भ्रमण गरेका थिए ।
अध्धयन भ्रमणमा सहभागी विद्यार्थीहरुले त्यस क्षेत्रको अवलोकनसँगै प्रतिवेदन लेखन, यात्रा संस्मरण आदि तयार गर्ने गरेको शिक्षक दाहालले जानकारी दिए । प्रशिक्षक खम्बू, शिक्षक दाहालसहित जम्मा ६७ जनाको सहभागिता रहेको टोलीलाई स्थानीय सुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मंगलसिंह लिम्बूलगायतले सहजिकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here