मानव तस्करको ट्रान्जिट प्वाइन्ट भारत : नक्कली भारतीय राहदानी प्रयोग गरी ओमान जान लागेकी नेपाली महिला मुम्बई विमानस्थलबाट पक्राउ

0
45
योगेन्द्र योगी
बिराटनगर :
नेपाल सरकारले भिजिट भिसा प्रयोग गरेर विदेश जाने नेपाली माथि कडाई गरेसँगै मानव तस्करहरुले नक्कली भारतीय राहदानी प्रयोग गरी गरी खाडी मुलुकहरुमा पठाउने गरेको तथ्य सार्वजनिक भएको छ।
बुधबार नक्कली भारतीय राहदानी प्रयोग गरेर ओमान उडान भर्ने प्रयास गरेपछि एक नेपाली महिलालाई छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। गत हप्ता काजलको रूपमा परिचय दिएकी ती महिलाले ओमानको मस्कट उड्न लागेको विमान चढ्न अध्यागमन काउन्टरमा पुगेपछि यो घटना बाहिर आएको हो।

सहार प्रहरीका अनुसार उनले पेश गरेको राहदानीमा उनको जन्मस्थान हिमाचल प्रदेशको नोहरा उल्लेख गरिएको थियो। यद्यपि, उनको स्पष्ट नेपाली अनुहारले अध्यागमन अधिकारीहरूमा शंका लागेर चेकजाँच गर्दा उनी नेपाली भएको पुष्टी भएको जनाएको छ। सोधपुछको क्रममा, महिलाले आफू भारतीय नागरिक नभएर नेपाली नागरिक भएको स्वीकार गरिन्।

उनले आफ्नो वास्तविक पहिचान नेपालको पर्सा जिल्ला घर र नाम काजल लामा भएको खुलासा गरिन्। प्रहरीले थप सोधपुछ गर्दा उनले आफ्नो परिवारको हिमाचल प्रदेशमा बसाइँसराइको प्रयोग गरी आधार कार्ड, प्यान कार्ड र वास्तविक प्रमाणपत्र नक्कली ठेगाना प्रयोग गरेको पत्ता लागेको जनाएको छ। अनुसन्धानको क्रममा उनले शिमला राहदानी कार्यालयबाट भारतीय राहदानी प्राप्त गर्न नक्कली कागजातहरू प्रयोग गरेको प्रहरीले जनाएको छ ।

अध्यागमन विभागको उजुरी पछि, महिलालाई पक्राउ गरिएको र राहदानी अधिकारीहरूलाई भ्रामक बनाउने, पहिचान कागजातहरू नक्कली बनाउने र अवैध यात्रा गर्ने प्रयास गरेको आरोप लगाइएको जनाएको छ । विदेशी नागरिक भए पनि उनले कसरी धेरै भारतीय परिचय पत्रहरू सुरक्षित गर्न सफल भइन् भन्ने बारेमा अधिकारीहरूले थप अनुसन्धान गरिरहेको बताईएको छ।

नेपालबाट ओमान लगायत खाडी मुलुकहरुमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा मानव तस्करहरुले भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन्। अहिले भारतको बाटो हुँदै गैरकानुनी रुपमा कुवेत पुगेका सयौ नेपाली महिलाहरुले उद्धारका लागि हारगुहार गरिरहेका छन्।

यसरी गैरकानुनी बाटो हुदैँ खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन् र सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here