प्रथम एनी गछिया गोल्डकपमा सहलेश युवा क्लब सिराहाको बिजयी सुरुवात

0
49

सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैचामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ सुरु भएको छ ।

प्रतियोगितामा ८ टीमको सहभागी रहेको छ। प्रतियोगिताको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले उद्घाटन गरेका छन् । उद्घाटन खेलमा सहलेश युवा क्लब सिराहा र बेलबारी फुटबल क्लब आमनेसामने भएका थिए ।

खेल प्रतिस्पर्धातात्म भएको थियो । पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल्दै बराबरीको स्थितिमा समाप्त गरे । तर दोस्रो हाफको २० औँ मिनेटमा सहलेश युवा क्लब सिराहाका जर्सी नम्बर ११ रोमन भुजेलले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई १–० गोलअन्तरको जित दिलाउन सफल भए ।

प्रदर्शनका आधारमा रोमन भुजेल आजको ‘म्यान अफ द म्याच’ घोषित भए र उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भोलि गछिया फुटबल क्लब र लिनेण्ड फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।

विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए ।

साथै, सुन्दरहरैचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ। खेल क्षेत्रमा दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिनेछ । आयोजकका अनुसार, प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खेल २२ गते सम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here