झापा , मेचीनगरका दुई छुट्टाछुट्टै स्थानमा प्रहरीले गरेको अपरेशनमा लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकासँग खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ र मोबाइलफोन बरामद भएको प्रहरीले जनाएको छ।
काँकरभिट्टामा दुई जना नियन्त्रण
इप्रका काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर–६, काँकरभिट्टा ताज होटलअगाडि चेकजाँच गर्ने क्रममा दुई जनालाई शंकाका आधारमा रोकेर शरीर खान तलासी गरेको थियो ।
नियन्त्रणमा परेका
-
दाङ, राप्ती गाउँपालिका–७ का २९ वर्षीय बेगम बहादुर खत्री
-
भोजपुर नगरपालिका–२ घर भई हाल मोरङ, रंगेली–३ बस्ने २१ वर्षीय डम्बर बहादुर रोक्का
खान तलासी क्रममा रोक्काको साथबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषध प्लास्टिकसहित ४ ग्राम ५८० मिलिग्राम तथा प्लास्टिक बाहेक ३ ग्राम ४०० मिलिग्राम बरामद भएको छ। साथै, रोक्कासँग iphone कम्पनीको मोबाइल र खत्रीसँग nothing कम्पनीको मोबाइल पनि फेला परेको प्रहरीले बताएको छ।
दुवैजनालाई लागुऔषध तथा मोबाइलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इप्रका काँकरभिट्टामा राखिएको छ।
धुलाबारीमा एक जना पक्राउ
मेचीनगर–१० शान्ति टोलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्र.स.नि. बिनिता शेर्पाको कमाण्डमा इप्रका धुलाबारीबाट खटिएको टोलीले अभिषेक चौधरी (२५) लाई चेकजाँच गरेको थियो।
चौधरीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लास्टिकसहित १ ग्राम ६७० मिलिग्राम तथा प्लास्टिक बाहेक १ ग्राम ५४० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इप्रका धुलाबारीमा राखिएको छ। लागू औषध नियन्त्रणमा प्रहरीको एक्सन लिएसंगै झापामा धमाधम लागू औषध कारोवारी पक्राउ पर्न थालेका छन् ।





























