देश र जनताको स्वतन्त्रता र अस्तित्वका निम्ति हाँसी–हाँसी आफूलाई बलिदान दिने व्यक्ति शहीद हुन् । नेपालका प्रथम शहीद लखन थापा र राणा शासन र निरंकुशताबिरुद्ध जीवन आहुति दिने गंगालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त जिउँदा शहीद हुन् । जसले राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि खुशी–खुशी बलिदान दिएका थिए । शहीदहरुको बलिदानले राणा शासनको अन्त्य भयो, जनताबाट निर्वाचित प्रधानमन्त्री पनि भए र प्रजातन्त्रको अभ्यास पनि गरियो । तर, त्यसभन्दा उन्नत भनेर हजारौंको हत्या गरेर ल्याइएको नयाँ राजनीतिक प्रणालीले पनि देशलाई विकास र समृद्धिको बाटोमा लान सकेन । जन इच्छा र अपेक्षाको पूर्णता पनि भएन बरु निरंकुशता बलियो भयो ।
पछिल्लो पटक सुशासन र भ्रष्टाचारमुक्त नेपालको पवित्र उद्देश्यले नवपुस्ताले आन्दोलन गरे । यिनै दुई प्रमुख माग लिएर सडक प्रदर्शन गरेका उनीहरु माथि अत्याधिक दमन गरियो, आन्दोलनकारी माथि गोली प्रहार भयो र एकैदिन उन्नाइस जनाको ज्यान गयो । त्यसलगत्तै भएको प्रदर्शनमा झनै ठूलो मानवीय क्षति भयो । सरकारले आन्दोलनको ताप खान नसकेर तत्कालीन सरकार विघटन भयो । त्यही बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न बलियो र जनादेश प्राप्त सरकारले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गरेर नवपुस्ताको मुख्य माग सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी छ ।
वर्तमान सरकार जेन–जी भनिने युवा पुस्ताको योगदानलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य, पारदर्शिता कायम, सुशासन स्थापित गर्ने अठोटलाई सम्मान गर्दै भदौ २३ लाई जेन–जी शहीद दिवस मनाउने निर्णय गरेको छ । त्यसो त राष्ट्रिय स्वाधीनता, प्रजातन्त्र र जनजीविकाका लागि भन्दै गरिएका आन्दोलनमा कैयौंले सहादत प्राप्त गरेका छन् । दश वर्षको माओवादी द्वन्द्वका समयमा पनि सत्र हजारभन्दा बढी मारिएका थिए । प्रत्येक आन्दोलनमा मारिएकाहरुको सपना साकार नभइरहेका बेला जेन–जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त शहीदहरुका सपना पूरा गर्नु सरकारको मुख्य जिम्मेवारी हो । त्यसका लागि सुशासन र समृद्धि अपरिहार्य छ । देश र जनबिरोधी, भ्रष्टाचारी लगायत देशका शत्रुहरुलाई दण्डित गर्नैपर्छ । राजनीतिका नाममा कुनै र कोही दोषीले छुट पाउनुहुँदैन । अनि मात्र शहीदको बलिदान सार्थक हुन्छ ।





























