इलाम ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम जिल्लास्थित आफ्ना ९ वटा शाखामा आवद्ध विभिन्न केन्द्रका ८० जना सदस्यलाई डिजिटल साक्षरता तालिम प्रदान गरेको छ।
सदस्यहरूलाई “ह्युमेन एटिएम” को रूपमा विकास गर्दै वित्तीय सेवामा प्रयोग हुने आधुनिक प्रविधि–जस्तै बचत रकम जम्मा गर्ने, रकम निकासा गर्ने, रकम ट्रान्सफर गर्ने तथा रेमिट्यान्स सेवा उपलब्ध गराउने सीपमा दक्ष बनाउने उद्देश्य तालिमको केन्द्रमा रहेको संस्थाले जनाएको छ।
तालिममार्फत सहभागीले डिजिटल भुक्तानी प्रणाली तथा मोबाइल बैंकिङ सेवा प्रभावकारी रूपमा प्रयोग गर्ने ज्ञान प्राप्त गरेका छन्। ह्युमेन एटिएम अवधारणाअनुसार, तालिम प्राप्त सदस्यहरूले आफ्नै समुदायमा वित्तीय सेवा केन्द्रका रूपमा सेवा प्रदान गर्नेछन्, जसले बैंकिङ पहुँच गाउँगाउँसम्म पुर्याउन सहयोग गर्नेछ।
कार्यक्रममा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिईओ) संजय कुमार मण्डल, विभागीय प्रमुख रञ्जना निरौला, विभागीय प्रमुख रमेश राय तथा इलाम जिल्ला प्रमुख सुशील कुमार सिठुङ सहभागी थिए। उनीहरूले तालिमको महत्व, डिजिटल वित्तीय समावेशनका फाइदा तथा यस्ता प्रयासले ग्रामीण अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पारे।
उनका अनुसार, संस्थाले सञ्चालन गर्दै आएका यस्ता तालिमहरू वित्तीय साक्षरता अभिवृद्धि र डिजिटल पहुँच विस्तार गर्ने संस्थागत रणनीतिको महत्वपूर्ण हिस्सा हुन्।
जीवन विकास लघुवित्तले यो कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सदस्यहरूलाई आधुनिक वित्तीय प्रविधिसँग जोड्न सफल भएको विश्वास गरिएको छ। यसले बचत प्रवृत्ति बढाउने, वित्तीय लेनदेनमा पारदर्शिता ल्याउने तथा समुदायमा आत्मनिर्भरता विकास गर्न सहयोग पुर्याउने बताइएको छ। डिजिटल साक्षरता बढ्दै जाँदा वित्तीय कारोबार सहज, सुरक्षित र दिगो बन्ने अपेक्षा संस्थाले गरेको छ।
संस्थाले आगामी दिनमा पनि यस्ता तालिमहरू निरन्तरता दिँदै वित्तीय सेवा पहुँच विस्तार तथा सदस्यहरूको जीवनस्तर उकास्न योगदान पु¥याउने योजना अघि सारेको छ।






























