बिर्तामोड ।

झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दकमको भवन पुर्ननिर्माणमा शैक्षिक ब्यवसायीहरुले महत्वपूर्ण योग्दान गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकको समिक्षालय भवन पुननिर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
दमकका शैक्षिक परामर्श व्यवसायीहरुले छ लाख रुपैयाँको लागत सहयोगमा सो भवनको पुननिर्माण सम्भव भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका सल्लाहकार समितिका सदस्य एवम् दमकस्थित चिरनचिराक कन्सल्टेन्सीका सञ्चालक चिरन न्यौपानेले जानकारी दिए ।
दमकमा दमक उद्योग वाणिज्य संघको सक्रियतामा व्यवसायी तथा सहयोगी दाताहरुले इलाका प्रहरी कार्यालय दमकको पुननिर्माणका लागि अभियान नै सञ्चालन गरिएका थिए । । अभियान अन्तर्गत शैक्षिक परामर्श व्यवसायीहरुले स्वैच्छिक रुपमा यस क्षेत्रको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा रहेको बिषय भन्दै प्रहरी कार्यालय हाता भित्रको समिक्षालय भवन निर्माणमा सहयोग जुटाएका थिए ।
शैक्षिक परामर्श व्यवसायीका दमकका संयोजक न्यौपानेले एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साललाई पुननिर्माण गरिएको भवन हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, संघका अध्यक्ष तथा पुननिर्माण समितिका कोषाध्यक्ष समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, शैक्षिक परामर्श व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक लम्सालले शैक्षिक परामर्श ब्यवसायीहरुले इलाका प्रहरी कार्यालयको समिक्षालय भवन पुर्ननिर्माणमा गरेको योग्दानका प्रशंसा गर्दै दमकका ब्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।































