बिर्तामोड ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेका बेला इलाको सूर्योदय नगरपालिकाबाट एक वृद्धाको उद्धार गरिएको छ ।
हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म सञ्चालन हुने लैंगिक हिंसा विरुद्धका अभियान हरेक स्थानमा सञ्चालन भइरहेको छ । अभियानकै क्रममा सूर्योदय नगरपालिका–१४ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम समापन गरेर फर्किदै गर्दा सूर्योदय नगरपालिका–१३ जुरेस्थित परिवारको संरक्षणको अभावमा अत्यन्त दयनीय अवस्थामा जीवनयापन गरिरहेकी ८२ वर्षीया वृद्धाको उद्धार गरिएको हो ।
उनको अवस्थाको बारेमा सूचना प्राप्त भए लगत्तै प्रहरी नायब निरीक्षक जीवन कुमार कार्कीको प्रहरी टोली, सूर्योदय नगरपालिकाको महिला शाखाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु, छरछिमेकी सहितको संयुक्त टोलीले वृद्धा महिलाको उद्धार गरेको हो ।

उनको उद्धार गरेर तत्काल परिवारका सदस्यहरुको संरक्षण नभएकोले परिवारका सदस्यहरु उपस्थित भएमा जिम्मा बुझाउने गरी संरक्षणको लागि माईती नेपाल इलाम शाखा पशुपतिनगरमा राखिएको इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरमा प्रहरी निरीक्षक प्रविन जोशी, प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीसहितको प्रहरी टोली रहेको छ ।
समूदाय साझेदारी अन्तरगत सो क्षेत्रमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै दुर्घटना न्यूनिकरणका क्षेत्रमा पनि सचेतना मुलक कार्यक्रमहरु भइरहेको जनाइएको छ ।






























