विनोद सापकोटा
दुधे,

सतासीधाम साना किसान सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा शनिबार दुधेस्थित आदिवासी जनजाति भवनमा सम्पन्न भएको छ। कृषकहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता लक्ष्यसहित अघि बढिरहेको सहकारीको साधारण सभामा सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
सभाको मुख्य आकर्षणका रूपमा आर्थिक वर्ष २०८१/०८२ को सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। संस्थाका अध्यक्ष धनबहादुर थेवेले सहकारीलाई अझ व्यवस्थित र किसानमैत्री बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरे।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक टेकनाथ दङ्गालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार हाल संस्थाको सेयर पुँजी ३७ लाख २९ हजार ५०० रुपैयाँ पुगेको छ भने असार मसान्तसम्म ८७ लाख ४९ हजार १२ रुपैयाँ ५५ पैसा निक्षेप संकलन भएको छ।

सहकारीको सबैभन्दा बलियो पक्ष भनेको किसानमुखी लगानी प्रणाली हो। हालसम्म सहकारीमार्फत ३ करोड २४ लाख ३२ हजार ८१८ रुपैयाँ विभिन्न कृषि तथा उद्यम कार्यक्रमहरूमा लगानी भइसकेको छ, जसले स्थानीय कृषकहरूलाई आत्मनिर्भर उद्यमीतर्फ प्रेरित गरेको छ।
सतासीधाम साना किसान सहकारीका सदस्यहरू आज परम्परागत खेतीमा मात्रै सीमित छैनन्। सहकारीले सञ्चालन गर्दै आएको सीपमूलक तालिम, उद्यम विकास अभिमुखीकरण र प्राविधिक सहयोगका कारण सदस्यहरू बेमौसमी तरकारी खेती, आधुनिक खेती प्रणाली, व्यावसायिक पशुपालन, मौरीपालन तथा साना कृषि उद्योगतर्फ सक्रिय बनेका छन्। सहकारीले “खेतीसँग उद्यम” अभियान सञ्चालन गर्दै किसानलाई उत्पादन वृद्धि, बजार व्यवस्थापन र व्यवसाय योजना बनाउन समेत सहयोग गर्दै आएको छ।

सहकारीले विभिन्न बचत योजनामा ८ देखि ११ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएको छ भने कर्जामा ७ देखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। विशेषगरी पशुपालनतर्फ तीन वर्षे अवधिका लागि ७ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको अध्यक्ष थेवेले बताए।
साधारण सभाका अवसरमा उत्कृष्ट व्यवसाय गर्ने २५ जना किसानलाई सम्मान गरिएको थियो। असल कारोबारी, नियमित बचतकर्ता, ज्येष्ठ सदस्य, व्यावसायिक पशुपालक, उद्यमी कृषक, मौरीपालक, बङ्गुर तथा बाख्रापालकलाई कृषि औजार, घरायसी सामग्री र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा उपाध्यक्ष गायत्रा चापागाईंले स्वागत मन्तव्य राखेकी छिन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बिर्तामोड शाखाका प्रबन्धक गणेश भट्टराई, पत्रकार विनोद सापकोटा तथा ज्येष्ठ सदस्य उमानाथ पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन मन्दा चापागाईंले गरेकी थिइन्।
स्थानीय कृषकको जीवनस्तर उकास्दै आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणमा सहकारीले खेलेको भूमिकाले सतासीधाम क्षेत्रलाई उद्यमशील कृषिको नयाँ केन्द्रतर्फ उन्मुख गराएको सन्देश साधारण सभाले दिएको छ।






























