झिलझिलेका समाजसेवी कालीबहादुर लिम्बूको निधन

0
117

झिलझिले ।

झिलझिले बजारको सामाजिक, आर्थिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका झिलझिले बजार विकास समितिका पूर्व अध्यक्ष कालीबहादुर लिम्बूको ६९ वर्षको उमेरमा निधन भएको छ।

उच्च रक्तचापका कारण गम्भीर स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि भारतको सिलगुडीस्थित पारामाउन्ट अस्पतालमा भर्ना गरिएका लिम्बूको शनिबार अपरान्ह ४ बजे उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उच्च रक्तचापले मृगौलामा समेत गम्भीर असर पुर्‍याएका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।

लिम्बू भारतीय सेनाका सेवा निवृत्त हवल्दार हुन्। उनले भारतीय सेना नम्बर २५०००५३ मा रहेर लामो समय भारतको राष्ट्रसेवा गरेका थिए । सेना जीवनबाट अवकाश लिएपछि उनले झापाको झिलझिलेमा स्थायी बसोबास गरी सामाजिक सेवा र सामुदायिक नेतृत्वमा आफूलाई समर्पित गरेका थिए। सरल, अनुशासित र कर्तव्यनिष्ठ स्वभावका लिम्बू स्थानीय समुदायका लागि प्रेरणाका स्रोत बनेका थिए।

झिलझिले बजार विकास समितिको नेतृत्व सम्हालेपछि उनले झिलझिले बजारको स्वरूप नै परिवर्तन गराएको स्थानीयहरूको भनाइ छ। उनको कार्यकालमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका बङ्गुर पालन तथा गोस लाइन व्यवस्थापन गरियो, जसले बजारको सरसफाइ र स्वास्थ्य सुरक्षामा ठूलो सुधार ल्यायो।

बजार क्षेत्रभित्रका अधिकांश सडक कालोपत्रे गराउने काम पनि उनकै पहलमा सम्भव भएको हो। दुई कार्यकाल अध्यक्षका रूपमा कार्य गरेका लिम्बूले झिलझिले बजारलाई व्यवस्थित र आकर्षक बनाउन दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तकुमार फेउदिनका अनुसार, ‘लिम्बु इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ सामाजिक क्षेत्रमा अगुवा बन्नुका साथै विकास योजनाहरू तयार गर्ने र कार्यान्वयन गराउने काममा अत्यन्तै अब्बल हुनुहुन्थ्यो। उहाँकै नेतृत्वका कारण झिलझिले बजारले आजको स्वरूप पाएको हो।’

लिम्बु संयुक्त भूपू सैनिक सङ्घ नेपाल शिवसताक्षीका संस्थापक सदस्यसमेत थिए। साथै उनी छिमेकी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सञ्चालक समिति सदस्य पनि हुन। हकारीमार्फत ग्रामीण क्षेत्रमा आर्थिक चेतना फैलाउने, बचत संस्कृतिको विकास गर्ने र विपन्न वर्गलाई सहारा दिने काममा उनको योगदान उल्लेखनीय रहेको स्थानीयहरु बताउँछन्।

उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न झिलझिले बजार आइतबार बिहान ११ बजेदेखि २ बजेसम्म स्वतःस्फूर्त रुपमा बन्द गरिएको थियो। उनको अन्त्येष्टि यात्रामा हजारौँ मलामीको सहभागिता रहेको थियो जसले। उनको पार्थिव शरीरलाई झिलझिले पश्चिम उत्तरस्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगल क्षेत्रमा कपुर बनाइराखिएको छ।

स्वर्गीय लिम्बुका परिवारमा श्रीमती नरमाया लिम्बु, दुई छोरा र एक छोरी छन्। उनको निधनले झिलझिले मात्र नभई सम्पूर्ण शिवसताक्षी क्षेत्रले एक असल समाजसेवी, कुशल नेतृत्वकर्ता र इमानदार मार्गदर्शक गुमाएको छ। उनले देखाउनुभएको बाटो र गरेको योगदान सधैं स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here