विर्तामोड, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टीको आन्तरिक चुनावलाई मेलमिलापपूर्ण बनाउँदै फागुन २१ गते हुने आमचुनावमा उम्मेदवारलाई विजयी गराउनेतर्फ सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताएकी छन्।
कांग्रेस झापा जिल्लाको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेतृ प्रसाईले कांग्रेसभित्रका चार पुस्ता—पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म—सबैलाई समावेश गरे मात्र पार्टी बलियो बन्न सक्ने उल्लेख गरिन्। सभापतिमाथि भएका आक्रमण, कार्यालय तोडफोडजस्ता घटनाहरू सिंगो नेपाली कांग्रेसमाथिको प्रहार भएको टिप्पणी गर्दै उनले “आफ्नै नेताको बदनाम गरेर कांग्रेस बलियो हुँदैन” भनिन्।
महाधिवेशनबारेको बहस लोकतान्त्रिक अभ्यास : उद्वव थापा
कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्वव थापाले पार्टीभित्र विशेष महाधिवेशनदेखि नियमित महाधिवेशनसम्मका धारणा उठेका भए पनि यो बहस सामान्य लोकतान्त्रिक प्रक्रिया भएको बताए।
उनका अनुसार सर्वसम्मतिमा महाधिवेशनको मिति टुंगो लागिसकेको हुँदा अब सबै कार्यकर्ता आमचुनावमा संगठनगत तयारीमा लाग्नुपर्छ।
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि समयसीमा
सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको विस्तारित बैठकले क्रियाशील सदस्य नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ।
निर्धारित समयसीमा यस प्रकार छ—
-
मंसिर २५ भित्र : छुट भएका क्रियाशील सदस्यता नवीकरण
-
मंसिर २९ भित्र : वडा तहमा नयाँ क्रियाशील सदस्यता वितरण
-
पुस २ भित्र : पालिकाले प्रदेशसभा तथा क्षेत्रीय समितिमा बुझाउने
-
पुस ८ भित्र : क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा बुझाइसक्ने
बैठकमा जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका सभापति, पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण सचिव कृष्ण हुमागाईंले गरेका थिए भने धन्यवाद ज्ञापन उपसभापति केशवराज पाण्डेले गरेका थिए।




























