छविराज ढकाल
पथरी शनिश्चरे, पथरीशनिश्चरेका केही होटल–लजहरूमा अवैध यौन क्रियाकलाप खुलेआम सञ्चालन भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्। स्थानीयको बढ्दो असन्तुष्टिपछि इलाका प्रहरी कार्यालय पथरीले सर्च–अपरेसनलाई थप सक्रिय बनाएको छ।
पछिल्ला केही सातादेखि पथरी, शनिश्चरेका विभिन्न टोल तथा व्यापारिक क्षेत्र आसपास यौनधन्दा तथा अन्य अवैध गतिविधि बढेको भन्दै स्थानीयले प्रहरीसमक्ष बारम्बार उजुरी गर्दै आएका थिए। स्थानीयको प्रतिक्रियापछि प्रहरीले दिनरात दुवै समयमा विशेष गस्ती र निगरानीलाई कडाइसाथ अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्यालका अनुसार गोप्य सूचनाका आधारमा यौनधन्दा, लागुऔषध ओसारपसार तथा अन्य आपराधिक घटनामाथि नियन्त्रण गर्न सर्च–अपरेसनलाई निरन्तरता दिइएको छ। उनले शान्ति–सुरक्षामा खलल पुर्याउने गतिविधि रोक्न गस्ती, मोबाइल पेट्रोलिङ र सूचनामूलक अपरेसन नियमित गरिएको बताए।
स्थानीयका अनुसार विशेष ‘सेटिङ’ मार्फत काम गर्ने कर्ल–गर्ल्सको संलग्नतामा केही होटल तथा लजहरूमा अवैध यौन क्रियाकलाप भइरहेको आशंका गरिएको छ। सर्च–अपरेसनका क्रममा केही होटल शंका उत्पन्न हुने गतिविधिमा संलग्न देखिएपछि कागजी प्रमाण, दर्ता तथा कानुनी प्रक्रिया जाँच्ने काम तीव्र पारिएको प्रहरीले जनाएको छ। आवश्यक परे होटल सञ्चालकहरूविरुद्ध कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।
यौनधन्दा नियन्त्रणमा स्थानीय, होटल व्यवसायी र प्रशासनबीच सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ। यसअघि भदौ महिनामा पनि गोप्य सूचनाका आधारमा यौनधन्दामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिसकेको प्रहरीले पुनः सक्रिय सर्च–अपरेसन थालेको हो।
यता, रातिको समयमा कोठा बुकिङ, अपरिचित व्यक्तिको आउजाउ र दुर्गन्धपूर्ण गतिविधिका कारण वातावरण असुरक्षित बन्दै गएको स्थानीयवासीको दाबी छ। अवैध गतिविधि पहिचानका लागि गोप्य निगरानीसमेत जारी रहेको प्रहरीले पथरीशनिश्चरेबासीलाई विश्वसनीय सूचना दिन आग्रह गरेको छ।



























