पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ विविध कार्यक्रमसँगै भव्य रूपमा मनाइएको छ। ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने नारासहित शुक्रबार नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो।
दिवसको अवसरमा नगरकी जेष्ठ स्वयंसेविका सरस्वती खनाललाई स्वास्थ्य सेवा क्षेत्रमा लामो समय पुर्याएको योगदानका लागि सम्मान गरिएको छ। २०४७ सालदेखि निरन्तर स्वयंसेविकाको भूमिकामा रहँदै आएका खनाललाई ७० हजार रुपैयाँ नगद, दोसल्ला तथा सम्मानपत्र प्रदान गरि विदाई गरिएको थियो।
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नगरकी जेष्ठ स्वयंसेविका शान्ता राईले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्।
जनस्वास्थ्य अधिकृत एकराज खत्री र जगत मगरको संयोजनमा गरिएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल, राजस्व शाखा प्रमुख तारा ढकाल, बालबालिका शाखा प्रमुख गीता कट्टेलसहित नगरका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए। कार्यक्रमका सहभागीले स्वास्थ्य सेवा प्रवर्द्धनमा स्वयंसेविकाको भूमिकाबारे शुभकामना व्यक्त गरेका थिए।































