बेलबारीमा बुहारीद्वारा सासू–ससुरालाई विष खुवाइएको आरोप, सासूको मृत्यु–ससुरा गम्भीर

0
81

विराटनगर,
मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले सासू–ससुरालाई विष मिसाइएको खाना खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा उपचाररत छन्।

एआइद्धावारा सृजना गरिएको, प्रतिकारात्मक तस्विर ।


शनिबार दिउँसो वृद्ध दम्पती बेहोस अवस्थामा भेटिएपछि घटनाबारे थाहा भएको हो। भक्तबहादुर राई घर नजिकको खोल्सामा ढलेका अवस्थामा फेला परे भने इन्द्रमाया घरभित्रै अचेत भेटिइन्। त्यही वरिपरि खोरमा राखिएका तीन कुखुरा मरेको अवस्थामा भेटिएको हुँदा विष प्रयोग भएको आशंका बलियो बनेको इलाका प्रहरी कार्यालय बेलबारीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दम्पतीका भतिजा प्रशान राईकी श्रीमती ३२ वर्षीया सुनीता कार्कीले खानामा विष मिसाएको प्रमाण भेटिएको छ। घटनापछि उनलाई नियन्त्रणमा लिइएको र आइतबार अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

इन्द्रमाया राईको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भक्तबहादुर राईको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भइरहेकाले चौधरीले बताए।

प्रहरीले घटनास्थलबाट जलाइएको अवस्थामा विषादीको बट्टा बरामद गरेको छ। विषको प्रकार र घटनाको प्रकृति फरेन्सिक परीक्षण तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निश्चित हुने प्रहरीले जनाएको छ।

वृद्ध दम्पतीका आफ्ना सन्तान नभएकाले उनीहरू भतिजा दम्पतीसँगै बस्ने गरेका थिए। घटना घटेको समयमा प्रशान राई घरबाहिर रहेको र सुनीताले खाना खुवाएपछि दुवै ढलेको विवरण प्रहरीले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here