नेपालीको जीवन निर्वाहको मुख्य आधार कृषि हो । कृषिपछिको र कृषि कर्मलाई सहयोग पुग्ने अर्को माध्यम पशुपालन हो । पशुपालनमा पनि बहुसंख्यक नेपालीले गाई पाल्ने गर्छन् ।
दूध पिउने, मोही, दही र ध्यू गाईबाट प्राप्त हुने र खाद्य वस्तुको महत्वपूर्ण आवश्यकता पूर्ति गर्ने माध्यम पनि गाईपालन नै हो । गोरसबिना नेपालीको भान्सा अपूर्ण हुन्छ । त्यसैले गाई अनिवार्य हुन्छ नेपाली जीवनका लागि । दूध उत्पादनका लागि आहार, स्वास्थ्य स्थितिको ठूलो भूमिका हुन्छ । दूधको उत्पादन क्षमता बढाउन गाईलाई दिइने आहार र उसको स्वास्थ्य क्षमताको गुणस्तर र स्वास्थ्य रक्षाका लागि सचेत हुनुपर्छ ।
राम्रो घाँसपात, दाना र पानीको प्रबन्धले राम्रो उत्पादन गर्न सकिन्छ । स्थानीय जातकै भए पनि राम्रो खानपान, उचित वातावरण, स्याहारसम्भार पुगेमा उत्पादन पनि राम्रै गर्न सकिन्छ । यद्यपि स्थानीय जातका गाईबाट धेरै दूध लिन सकिँदैन तर त्यही दूध बढी पोषिलो र खाद्य तत्वका आधारमा उत्तम हुने चिकित्सकहरु बताउँछन् । उन्नत जातका गाईबाट धेरै दूध लिन सकिने, छिट्टै व्याउने भएकाले आजभोलि थोरै तर उन्नत जातका गाई पाल्ने प्रवृत्ति बढ्दै गएको छ । यिनीहरु छिट्टै व्याउने र दूध बढी दिने कारणले लाभ पनि छिट्टै र धेरै पाइने लोभमा हिजोआज उन्नत जातकै गाईवस्तु पालनप्रति किसान आकर्षित हुँदै गएका छन् ।
हिजोआज गाईपालन गर्ने प्रवृत्ति बजार र बजारउन्मुख क्षेत्रमा घट्दै गएको छ । तर, दूध र दूधजन्य वस्तु घ्यू, दही, मोही, पनिर, छुर्पी लगायतका वस्तुको माग बढ्दै छ । यसबाहेक कृषि उत्पादन अग्र्यानिक हुनुपर्छ भन्ने धारणा पनि बलियो हुँदै जाँदा गाईवस्तुबाट प्राप्त हुने मलमूत्रको प्रयोग त्यसका लागि सहायक हुन्छ । आधुनिक कृषि प्रणालीको पहुँच बढ्दै गएपछि ग्रामीण क्षेत्रमा समेत कृषि कर्ममा गोरु, राँगाको प्रयोग हुन छाडेको छ । जसका कारण रासायनिक मल तथा विषादिको प्रयोग बढ्दो क्रममा छ । त्यस्तै चरन क्षेत्र माँसिदै जाँदा बाँधेरै गाईभैंसी पाल्ने प्रवृत्ति बढेको छ । बाँधेर पाल्दा तयारी दाना दिने चलनले किसानलाई सुविधा पनि भएको छ ।
यस्तै सुविधाको उपभोग गर्दा गाईवस्तुमा रोगको संक्रमण बढेको छ । हालै पाँचथरमा गोठमै पालिएको गाई विरामी हुँदा चिकित्सकले गाईको पेटबाट फलामका टुक्रा निकाले । दुहुनो गाई दुब्लाउँदै गएको, दाना खाना मन नगरेको, उठ्न र हिंड्न गाह्रो हुन थालेपछि पशु चिकित्सकलाई देखाउँदा उनीहरुले मेटल डिटेक्टरको सहयोगले परीक्षण गरेका थिए ।
यन्त्रको सहायताले गाईको पेटबाट फलामका टुक्रा निकालियो । यस्ता घटना प्रायः सबैतिर भइसकेका छन् । व्यवसायिक हिसाबले पालिएका गाईमा यस्तै दाना खुवाइने भएकाले गाइको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । त्यसलाई रोक्न दाना उत्पादकहरु बढी सचेत र जिम्मेवार हुनुपर्छ । गाईपालक किसानलाई त्यसको सुरक्षाको प्रत्याभूति नहुँदासम्म गाईपालन आम्दानीको भरपर्दो आधार हुनसक्दैन । यसतर्फ स्थानीय सरकार पनि गम्भीर हुनुपर्छ ।




























