झापा, सुनसरीमा तन्त्रमन्त्र गरेर परिवारलाई आतंकित बनाएको आरोपमा सिटी सफारी चालकको गोली हानी हत्या गर्ने समूहका सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार घटनामा संलग्न दोषीहरूलाई सार्वजनिक गर्दै अनुसन्धानको प्रारम्भिक निष्कर्षहरु विवरणसहित प्रस्तुत गरेको हो ।
रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडक खण्डमा गत असोज २५ गते साँझ ५ः२० बजे प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाउँदै आएका ४५ वर्षीय दिनेश कुमार चौधरीलाई अज्ञात व्यक्तिहरूले नियोजित रूपमा गोली प्रहार गरी हत्या गरेका थिए ।
प्रहरीका अनुसार सो घटनाको अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक विश्लेषण, प्रत्यक्षदर्शी तथा परिवारजनको बयान संकलनपछि हत्या योजनाबद्ध भएको तथ्य सतहमा आएको हो ।
परिवारजनलाई तन्त्रमन्त्र गरेर लामो समयदेखि मानसिक रूपमा दुःख दिएको विश्वासका आधारमा चौधरीलाई हटाउन योजना बनाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुख केशवकुमार थेबेले पत्रकार सम्मेलनमा बताए ।
पक्राउ परेकाहरूमा रामधुनी–१ का ४३ वर्षीय राजेश उर्फ राज किशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्स कुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेका छन् ।
प्रहरीले बताएअनुसार रकम लेनदेनमार्फत समूहगत रूपमा हत्या गर्ने योजना बनाइएकै दिन उनीहरूले चौधरीमाथि नजिकबाट गोली प्रहार गरेका थिए।
प्रारम्भिक सोधपुछमै पक्राउ परेकाहरूले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। मंसिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।






























