झिलझिले, झापामा विहान् र बेलुकाको समयमा जाडो बढ्दै जाँदा विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राख्दै रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले झापाका सामुदायिक विद्यालयहरूमा न्यानो कपडा वितरण अभियानलाई निरन्तरता दिएको छ । 
प्रतिष्ठानले मङ्गलबार शिवसताक्षी नगरपालिका–४ स्थित मञ्जुश्री आधारभूत विद्यालय र वडा नं–६ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडोमा लगाउन उपयुक्त न्यानो ट्र्याकसुट वितरण गरेको हो । उक्त कार्यक्रमबाट जम्मा १५६ जना विद्यार्थी लाभान्वित भएका छन् । जसमध्ये मञ्जुश्री विद्यालयका १०६ जना र सरस्वती विद्यालयका ५० जना विद्यार्थी रहेका छन् ।
प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज ओली (गोपाल)का अनुसार यो अभियान नयाँ नभई विगत एक दशक देखिको निरन्तर सञ्चालनमा रहेकोे कार्यक्रम हो ।
मंसिरको दोश्रो साता प्रतिष्ठानले कन्काई र भद्रपुर नगरपालिकाका सामुदायिक तथा धार्मिक विद्यालयमा अध्ययनरत आदिवासी जनजाति, दलित, सिमान्तकृत तथा अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई पनि न्यानो कपडा वितरण गरिसकेको छ ।
कोषाध्यक्ष गोपालले भने, ‘बालबालिकालाई चिसोबाट जोगाउनु मात्र होइन, सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउनु पनि हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो ।’
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन) ले प्रतिष्ठानले समाजमो पुर्याएको शैक्षिक, आर्थिक, धार्मिक र सामाजिक योगदानको प्रशंसा गरे । नगर प्रमुख थोप्राले भने, ‘गैर–नाफामूलक संस्थाहरूले शिक्षा, स्वास्थ्य, धार्मिक लगायत अन्य थुप्रै क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय छ । यस्ता अभियानले समाजमा सकारात्मक चेतना फैलाउने काम गरेको छ ।’
शिवसताक्षी वडा नं–४ का वडाध्यक्ष विष्णु प्रसाईंले आफ्नो वडाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूले न्यानो कपडा पाउनु गर्वको विषय भएको बताए । उनले अघिल्ला वर्षहरूमा त्रिभुवन मावि, पाथिभरा आवि र जनता आविका विद्यार्थीहरू जाडोमा लगाउने न्यानो लुगा पाएर लाभान्वित भइसकेका छन् । यस वर्ष मञ्जुश्री आधारभूत विद्यालय पनि समेटिँदा वडाका सबै सामुदायिक विद्यालय मा अध्ययन गर्ने विद्यार्थी लाभान्वित भएकोमा प्रतिष्ठानको खुलेर प्रशंसा गरे ।
मञ्जुश्री आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगाप्रसाद ओली र केन्द्रीय सदस्य नारदमणि न्यौपानेले प्रतिष्ठानको स्थापना, उद्देश्य तथा सामाजिक, शैक्षिक र राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानबारे प्रकाश पारेका थिए ।
त्यसैगरी सरस्वती आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल कार्की, नेकपा एमाले नेतृ गोमा रिजाल, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदयप्रकाश राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य तथा विपन्न समुदायको सशक्तीकरणमा निरन्तर काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने जनाएको छ ।
यस अभियानले बालबालिकालाई जाडोबाट जोगाउनुका साथै उनीहरूमा भविष्यप्रतिको भरोसा र विद्यालयप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको अभिभावकले बताएका छन् ।






























