लाखको सपना देखेर म्यानमार पुगेका ४७ नेपाली रित्तोहात फर्किएपछि…

0
46

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

म्यानमारको स्वयामिङ्ग केन्द्रहरूमा आवद्ध ४७ जना नेपाली बैंककबाट उद्धार गरी नेपाल फर्काईको छ।

विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाईन डेटिङ, अनलाईन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाईएका ४७ जना नेपालीलाई नेपाली दूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार स्वदेश फर्काईएको हो।

थाइल्याण्डस्थित नेपाली दूतावासको अनुसार नेपाल एयरलाइन्सको उडान आरए ४०२ को उडान मार्फत उनीहरुलाई नेपाल फर्काइएको जनाएको छ। उद्धार गरिएका व्यक्तिहरू मध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन् जसमा ४५ पुरुष तथा २ जना महिला छन्।

जिल्लागत रूपमा हेर्दा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका १/१ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका २/२ जना, त्यस्तै, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका ३/३ जना तथा झापा जिल्लाका ५ जना रहेका छन्।

उनीहरु स्क्यामिङ केन्द्रहरूमा दुई महिना देखि १८ महिनासम्म आवद्ध भएको देखिए आएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूको भनाई अनुसार निजहरू विभिन्न व्यक्ति, साथीभाई तथा अनलाईन साथी, पवजी लगायतको अनलाईन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी तहाँ पुगेको बताएका छन् । केहि केहि भारतमा अध्ययन गर्दाको साथी मार्फत, कुनै दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेका छन्।

हाट्सएप, भाईवर, मेसेन्जर, टिकटक, टेलिग्राम लंगायतका सामाजिक सञ्जालबाट काठमाण्डौमा घण्टाको यति कमाईन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समय पछि भ्रमणको लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिष्ट आदिको काम छ, एक लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको छ । त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ्ग केन्द्रहरूमा पुराएको देखिएको छ।

स्क्यामिङ्ग केन्द्रहरूमा पुगेपछि निजहरूलाई केही महिनासम्म आरामदायी किसिमले काम लगाउने, केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिईने र सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूलाई बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्ने लगायतका यातना समेत भोग्ने गरेको पाईएको दूतावासले जनाएको छ । उनीहरु स्क्यामिङ्ग केन्द्रबाट निस्किन खोजे निजहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म सो स्थानबाट छुटकारा समेत नगराउने देखिएको दूतावासले जनाएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, आर्थिक वर्ष २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म सम्म १४१ जना उद्धार गरी नेपाल पठाईएको दूतावासले जनाएको छ ।

म्यान्मारको म्यावाडीमा रहेका विदेशी नागरिकको स्वदेश फिर्तीलाई सहज बनाउनको लागि थाईल्याण्ड सरकारले एउटा कार्यसञ्चालन निर्देशिका (मानक सञ्चालन प्रक्रिया) बनाएको छ । सोही कार्यसञ्चालन निर्देशिकाको पालना गरी नेपाली नागरिकहरूको उद्धार गरिएको जनाएको छ ।

दूतावासले विदेश जाने नाममा हतार नगर्न, राम्रोसँग बुझ्न तथा सामाजिक सञ्जाल, आफ्ना साथीभाई आदिले प्रस्ताव गरेका वैदेशिक रोजगारीको आधिकारीकताको यथार्थता बुझ्न र रोजगारदाताको आधिकारिकता बुझी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि दूतावास अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here