बलिदान खेर नजाओस्

0
9

प्रतिनिधिसभाको निर्वाचन आउन अब केही महिना मात्र बाँकी छ । पुराना ठूला भनिने दलहरु मुसाको आशामा ठूलो नजिक हात राखेर बसेका छन् । भएसम्म विघटित प्रतिनिधिसभा ब्युँताउने नभए निर्वाचनमा भाग लिने मनस्थितिमा ‘मुसा’ अर्थात् सत्ता हात पार्ने दाउमा रहेका नेपाली कांग्रेस र एमाले त्यसै अनुसारको रणनीतिको जाल बुन्न व्यस्त छन् । नाति–नातिना पुस्ताले सुशासनको माग गर्दा एकै दिन उन्नाइस जनाको ज्यान लिने एमाले नेतृत्वको सरकारले अहिलेसम्म आत्ममूल्याङ्कन गरेको छैन । अझ उनीहरुको बलिदानलाई खिसी–ट्युरी गरेर रमाइरहेको छ । शासनमा स्वच्छता, रोजगारीको अवसर र भ्रष्टाचारको अन्त्य खोजेका युवा पुस्ताको बलिदानले विगतका सबै आन्दोलनलाई बिर्साइदिएको छ ।

भविष्यका कर्णधार, होनाहार युवाको मागलाई कुल्चिएर उनीहरुलाई तह लगाउने सरकारको निरंकुश र बर्बर दमनको परिणाममा अपदस्थ हुनु परेको घटना तिनै बुढा पुस्ताका लागि असह्य भएको छ । युवा पुस्ताको आक्रोशलाई अवमूल्यन गरेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र तिनका आसेपासेको सत्ता बहिर्गमन उनीहरुलाई सच्चिने अश्त्र नबन्दा देशले अझै लय समाउन सकेको छैन । अझै पनि तिनै दलकै कारण फागुन २१ को निर्धारित निर्वाचन सुनिश्चित भइसकेको छैन । आत्मलोचना गरेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न अनिच्छुक देखिएका वयोवृद्ध नेताहरुकै कारण देशलाई सबल, सक्षम, सफल र विकसित बनाउन कठिन छ । युवा पुस्ताले खोजेको शासन प्रणाली पारदर्शी, जवाफदेहीपूर्ण, निष्पक्ष र समावेशी हो । त्यसका लागि राजनीतिक नेतृत्व फेरिनु पर्दछ ।

युवा पुस्ता युगान्तकारी परिवर्तन चाहन्छन् । उनीहरुले रोजगारीको अवसर, शिक्षा र स्वास्थ्य सेवामा सबैको सहज पहुँच खोजेका छन् । युवा वर्ग नीति, निर्माण र विकासमा सहभागिता चाहन्छन् । सँगै भ्रष्टाचारको अन्त्य, सुशासन र सामाजिक स्वच्छता उनीहरुको माग हो । यी र यस्ता पूर्वाधारहरुमा युवा पुस्ताको साझा धारणा, मान्यता र लक्ष्य हुनुपर्छ । विभिन्न दलभित्र रहेका युवा पुस्ताले देशलाई केन्द्रमा राखेर आत्मसमीक्षा गर्नुपर्छ । युवाको चाहना नै पुस्तान्तरण हो, त्यही पुस्ताले मात्र युवाको अपेक्षा र मागलाई सम्बोधन गर्न सक्छ । हिजो कै शैलीमा बुढा पुस्ताकै पछि दौडिरहने प्रवृत्तिले फेरि पनि समस्या समाधान हुँदैन । त्यसैले हरेक पार्टीका युवाले आसन्न निर्वाचनमा विवेक प्रयोग गर्दै समृद्धि र विकासको मार्ग प्रशस्त गर्नुपर्छ । यसले मात्र जेन–जी विद्रोहको भावना पूरा गर्न सक्छ र देशले स्थिरता सँगै समृद्धिको यात्रा प्रारम्भ गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here