शिवशताक्षी। 
गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान झापाको तेस्रो साधारण सभा सम्पन्न भएको छ। मङ्सिर २२ गते बैगुनधुरामा सम्पन्न अधिवेशनले उतम बहादुर चम्लागाईलाई प्रतिष्ठानको सभापतिमा सर्वसम्मत चयन गरेको हो।
नेपाली कांग्रेस कोशि प्रदेश सदस्यसमेत रहेका चम्लागाई झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भइसकेका व्यक्तित्व हुन्।
अध्यक्षमा निर्वाचित भएपछि चम्लागाईले प्रतिष्ठानको संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले गिरिजाप्रसाद कोइरालाको नामबाट एक सभाहल निर्माण गरी प्रतिष्ठानको क्रियाकलापलाई अझ सुदृढ गर्ने योजना सार्वजनिक गर्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
“गिरिजाबाबुको नाममा स्थापना भएको यो संस्थाले अब सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउनेछ”, उनले भने। तेस्रो साधारण सभाले अन्य पदहरूमा पनि सर्वसम्मत नेतृत्व चयन गरेको छ।
उपाध्यक्षमा नेपाली कांग्रेस बैगुन्धुराका पूर्व अध्यक्ष खेम प्रसाई, सचिवमा कांग्रेस झापा जिल्ला सदस्य कुवेरपति पोखरेल, सहसचिवमा प्रवासबाट फर्किएका बालकृष्ण वान्तवा र कोषाध्यक्षमा दमक उद्योग वाणिज्य संघका सदस्य कृष्ण दाहाल चयन भए।
त्यसैगरी सदस्यहरूमा गोपालप्रसाद भट्टराई (नेका वडा सभापति), झुमा गौतम (नेका विराटनगर महानगर समिति सचिव), कृष्ण गौतम (पूर्व जनप्रतिनिधि) र सिताराम भट्टराई (महासमिति सदस्य तथा पूर्व जनप्रतिनिधि) चयन भएका छन्।
साधारण सभामा सहभागीले नयाँ नेतृत्वबाट संस्थाको उद्देश्यअनुसार सामाजिक सेवा, मानवता र लोकतान्त्रिक मूल्यप्रति केन्द्रित कार्यक्रमलाई विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्।
नव–निर्वाचित पदाधिकारीहरूले जिम्मेवारीको सम्मान गर्दै उपलब्ध स्रोत र जनसहभागितालाई जोडेर प्रतिष्ठानलाई झापाको एक सक्रिय राजनीतिक र सामाजिक संस्था बनाउने संकल्प व्यक्त गरेका छन्।


























