बालगृह व्यवस्थित गर

0
5

अभिभावकविहीन बालबालिकाका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको एक अध्ययनले देखाएको छ । नेपालको विद्यमान कानून अनुसार बाबुआमाविहीन र संरक्षकत्व लिने नातेदार समेत नभएको अवस्थामा अन्तिम विकल्पका रुपमा बालगृहमा राख्न सकिने व्यवस्था छ । राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांक अनुसार हाल देशमा तीन सय छैसठ्ठी वटा बालगृह सञ्चालित छन् । ती बालगृहमा दश हजार एक सय त्रियानब्बे बालबालिका बसोबास गरिरहेका छन् । परिषद्कै तथ्यांक अनुसार कूल बालबालिकामध्ये साठी प्रतिशत बाबुआमा भएका र बीस प्रतिशतका आमा–बुवामध्ये एक जना जीवित छन् ।

बालगृह संरक्षकविहीन अथवा शारीरिक वा मानसिक रुपले कमजोर बालबालिकालाई आवासीय ढंगले राख्ने स्थान हो । तर, धेरै बालगृहले कानून विपरीत शिक्षाको प्रलोभन देखाएर बालबालिकालाई राख्ने गरेको बाल अधिकारकर्मीले बताएका छन् । अनाथलाई संस्थागत संरक्षकत्व दिएर लालनपालन एवम् शिक्षादीक्षा दिने उद्देश्यले खुलेका बालगृहमा राख्दा उनीहरुमा बाबुआमा, परिवार र समुदायसँग मिलेर बस्ने व्यवहारको अभाव हुन्छ । परिवार र समुदायको रहनसहन, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यता टाढा हुन पुग्छन् । मौलिक परम्परा, ज्ञान र सिपको अभाव हुन्छ र भोलि ऊ परिवार र समाजसँग पनि टाढिन्छ । आफ्नो थातथलो बिर्सिन्छन् र साबालक भएर परिवारसँग पुनस्थापित हुन सक्दैनन् ।

बालगृहमा राख्दैमा अभिभावकले अपेक्षा गरे अनुरुप शिक्षा–दीक्षा, स्याहार र लालनपालन हुन्छ भन्ने छैन । कतिपय बालबालिका सञ्चालकहरुबाटै विभिन्न प्रकारका हिंसामा परेका समाचारहरु सार्वजनिक भइरहेका छन् । अझ यौन दुव्र्यवहारमा परेकाहरुमा पर्ने शारीरिक एवम् मानसिक आघातले उनीहरुको जीवन अनिश्चित हुन पुगेका उदाहरण पनि छन् । आफन्त वा परिवारसँगको बियोगले उत्पन्न हुने पीडाले निराशा, हीनताबोध जन्माउँछ जो अन्ततः दुष्परिणाम समेत निम्तिन सक्छ । अझ कतिपय बालगृह दाताहरुको अनुदान प्राप्त गर्न र कतिपय धार्मिक उद्देश्यले सञ्चालन गरिएका हुन्छन्, जसले बालबालिकामा सहिष्णुताको अभाव हुन्छ र कतिपय अवस्थामा कानूनी समस्या पनि पर्ने गर्छ ।

बालबालिकालाई समस्यामा पर्न नदिन सरकार र सम्बद्ध निकायले बालगृहको निरन्तर अनुगमन गर्नुपर्छ र उनीहरुको मनोसामाजिक अवस्थाको नियमित जाँच, स्वास्थ्य परीक्षण, मापदण्ड अनुसार भए–नभएको थाहा पाउनुपर्छ । त्यसका लागि प्रभावकारी अनुगमन गर्दै बालगृहलाई व्यवस्थित गर्नुपर्दछ । सकेसम्म अभिभावक भएका बालबालिका बालगृहमा नपुगुन्, परिवारसँगै बसेर जीवनको भोगाइबाट सिकून् र चुनौतिको सामना गरुन् । यसले मात्र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्दै समस्या समाधान गर्न समर्थ बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here