प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीयको अध्यक्षमा पुनः घोर्साने

0
2
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा डिल्लीबहादुर घोर्साने चयन भएका छन् ।
अर्जुनधारा–७ स्थित सामूहिक उद्दार तथा उपकार संघको सभाहलमा आइतबार सम्पन्न भएको २३औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा घोर्साने सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा रञ्जना कार्की, सदस्यहरुमा उर्मीला रिमाल, कुन्ता प्रसाईं, गायत्रीदेवी सिटौला, गंगा सुवेदी, रेनुका अधिकारी, लीलादेवी पोखरेल र हरिप्रसाद चिमरीया चयन भएका छन् ।
त्यस्तै साधारणसभाले पुनः ठाकुरसिंह गुरुङको संयोजकत्वमा निर्जला भट्टराई र रामप्रसाद भारती सदस्य रहेको तीन सदस्यीय लेखा समिति सर्वसम्मत गठन गरेको संस्थाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।
समितिका अध्यक्ष घोर्सानेको अध्यक्षतामा आयोजित उक्त साधारणसभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रशासन शाखा प्रमुख डेनजनी आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष घोर्सानेले संस्थाको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक गुरुङले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयरपूँजी एक करोड १६ लाख ५९ हजार सात सय रुपैयाँ, जगेडा कोषमा ६२ लाख ६० हजार नौ सय १९ रुपैयाँ ३० पैसा, अन्य कोषमा ५३ लाख २० हजार एक सय २५ रुपैयाँ ११ पैसा, निक्षेप पाँच करोड १० लाख २६ हजार तीन सय ९६ रुपैयाँ ६५ पैसा, कर्जा लगानी छ करोड २० लाख १३ हजार पाँच सय ६९ रुपैयाँ उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा ज्येष्ठ शेयर सदस्य तुलसीराम दाहाल, असल कारोबारतर्फ अमृता गुरुङ, असल बचतकर्तातर्फ मगनमाया नेपाली र उत्कृष्ट बाल बचतकर्तातर्फ गौरव न्यौपाने र प्रज्ञान बुढाथोकीलाई सम्मानित गरेको थियो ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका सदस्य प्रेमसागर सापकोटा, करुणा फाउण्डेशन नेपालका अर्जुनधारा संयोजक सुरेन्द्र गिरी, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदी र संस्थाका संस्थापक अध्यक्ष दीपेन्द्र काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here