तेह्रथुमका किसानलाई गोलोक गोवर्धन गौशालाले निःशुल्क दियो गोरु

0
29

विनोद सापकोटा
झापा , प्रविधि र आधुनिक यन्त्रको पहुँच नपुगेका विकट पहाडी भेगका किसानका लागि हल गोरु आज पनि जीवनयापनको मुख्य आधार बनेका छन्।

यही यथार्थलाई मनन गर्दै झापाको शिवशताक्षी नगरपालिका–स्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकाका अति विपन्न किसानलाई लक्षित गरी १०० हल गोरु निःशुल्क दान गर्ने निर्णय गरेको छ। यो निर्णयले खेतीयोग्य जमिन भए पनि साधनको अभावमा पछाडि परेका किसानमा नयाँ उत्साह थपेको छ।
गौशालाले प्रदान गर्ने गोरुहरू फेदाप गाउँपालिकाले औपचारिक रूपमा बुझेर पालिकाभित्र अन्य विकल्प नभएका विपन्न किसानलाई जोत्नका लागि मात्र गोरुहरूवितरण गर्नेछ।
फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटवालका अनुसार किसानले गोरु पाएबापत कुनै पनि शुल्क तिर्नु पर्दैन। “गोलोक गोवर्धन गौशालाबाट हामीले १०० हल गोरु निःशुल्क पाएका हौँ। यसले विपन्न किसानको आयआर्जन र आत्मनिर्भरतामा ठुलो टेवा पुग्नेछ,” उनले भने।
गोरु वितरणसम्बन्धी सहमति मङ्सिर १६ गते फेदाप गाउँपालिका र शिवशताक्षी नगरपालिकाबीच भएको हो। सोही सहमतिअनुसार पहिलो चरणमा २२ हल गोरु शनिबार साँझ दुईवटा ट्रकमार्फत झापाबाट तेह्रथुमतर्फ पठाइएको छ। गौशालाका व्यवस्थापकीय प्रमुख विनोद न्यौपानेका अनुसार सबै कागजी प्रक्रिया पूरा गरी पशुहरूको स्वास्थ्य परीक्षणसमेत गरेर गोरु निकासा गरिएको हो।
११ वर्षअघि झापामा स्थापना भएको गोलोक गोवर्धन गौशालाले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अहिलेसम्म करिब तीन हजार गाई र त्यति नै सङ्ख्यामा गोरु देशका विभिन्न ठाउँका किसानलाई वितरण गरिसकेको छ। गौशालाका अध्यक्ष नन्दकिशोर भारद्वाजका अनुसार विपन्न समुदायका नागरिकले माग गरेपछि उनीहरूको अवस्था, आवश्यकता र उपयोगको उद्देश्यबारे आवश्यक जाँचबुझ गरेर मात्र गाई वा गोरु प्रदान गरिँदै आएको छ। “वास्तविक किसानको हातमा सहयोग पुग्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो,” भारद्वाजले भने।

यसअघि पनि गौशालाले विभिन्न जिल्लाका किसानलाई हल गोरु वितरण गर्दै आएको छ। गाईको हकमा भने शिवशताक्षी र कमल गाउँपालिकाका किसानहरूले मात्र निःशुल्क अनुदानमा पाउने गरेका छन्। हाल गौशालामा गोरुको सङ्ख्या बढ्दै गएपछि वितरणको दायरा विस्तार गरिएको जनाइएको छ।

गौशालाबाट निःशुल्क रूपमा प्राप्त गरिएका चौपायाको हकमा स्पष्ट नियम बनाइएको छ। गोरु जोत्नका लागि र गाई दूधका लागि मात्र प्रयोग गर्नुपर्ने र अन्य कुनै प्रयोजनमा बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरिएको छ।
पहाडी भूगोलमा हल गोरु पुगेपछि बाँझो जमिन जोतिने, उत्पादन बढ्ने र किसानको आत्मविश्वास मजबुत हुने अपेक्षा पालिका अध्यक्ष भेटवालले गरेका छन्। गोलोक गोवर्धन गौशालाको यो सेवा भावले किसानलाई जोत्न प्रयोग हुने गोरु मात्र होइन, खेतीप्रति नयाँ आशा र आत्मनिर्भर हुन भविष्यको भरोसा पनि दिएको स्थानीयवासीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here