अमेरिकी आप्रवासन कडाइको असरः एकै दिन ७५ नेपाली स्वदेश फर्काइए

0
30

झापा, अमेरिकाले आप्रवासन कानुन उल्लङ्घन गरेको आरोपमा एकै दिन ७५ जना नेपालीलाई स्वदेश फिर्ता पठाएको छ ।

अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनी हैसियत गुमाएका नेपालीहरूलाई बिहीबार चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।

डिपोर्ट गरिएकामध्ये ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार अधिकांश नेपाली ‘तल्लो बाटो’ प्रयोग गरी अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।

डिपोर्ट हुनेहरूमा दुई जना भिजिट भिसामा गएर निर्धारित समयभन्दा बढी बसेका व्यक्ति पनि छन्। यस्तै, करिब ३० वर्षदेखि अमेरिका बस्दै आएका तर स्थायी आवास (पीआर) कार्ड नवीकरण नभएका एक नेपालीसमेत फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

“फर्काइनेमध्ये कोही सात महिना, कोही दुई वर्षसम्म जेल सजाय भोगेर आएका छन्,” एसएसपी पंगेनीले बताए, “भिजिट भिसामा गएकादेखि पीआर नवीकरण हुन नसकेकासम्म सबै खाले केस छन्।”

ब्युरोका अनुसार डिपोर्ट भएका नेपालीहरूले अमेरिका पुग्न बिचौलियालाई एक करोड रुपैयाँसम्म बुझाएको बयान दिएका छन्। उनीहरूलाई अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाउने व्यवस्था गरिएको छ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि आप्रवासन नीति थप कडा बनेको देखिन्छ। ट्रम्पले सन् २०२५ जनवरी २० देखि सत्ता सम्हालेयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार गत सात वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट देश निकाला भइसकेका छन्। यसअघि पनि भदौ १९ गते र जेठ २५ गते अमेरिकाले समान रूपमा ३७–३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो।

ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रणलाई प्राथमिकतामा राख्दै एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरिसकेको छ। यसले वैदेशिक रोजगारी र सुरक्षित आप्रवासनका विषयमा गम्भीर बहस आवश्यक रहेको संकेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here