कर्णाली साकोसको २५ औँ साधारण सभाको अन्तिम माइन्युट प्रमाणिकरण सम्पन्न

0
44

बिर्तामोड , झापाको बिर्तामोड नगरपालिका–४ मा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (कर्णाली साकोस) को २५औँ वार्षिक साधारण सभाअन्तर्गत अन्तिम माइन्युट प्रमाणिकरण भेला आज सम्पन्न भएको छ।

संस्थाले यसअघि सातवटै एकाइगत साधारण सभा सफलतापूर्वक सम्पन्न गरेपछि अन्तिम माइन्युट प्रमाणिकरणसहित २६औँ वार्षिक उत्सव तथा रजत महोत्सव आयोजना गरेको हो। कार्यक्रम संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थाका ज्येष्ठ प्रारम्भिक सदस्य जयबहादुर गौतम प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका सात जना सदस्यलाई उपचार खर्च वापत कुल दुई लाख आठ सय रुपैयाँ प्रदान गरिएको छ। उपचार सहयोग प्राप्त गर्ने सदस्यहरूमा कल्पना सुब्बा, कुन्ता चापागाईं, सम्झना लिम्बू, रञ्जिता लिम्बू, संगीता गुरुङ, आशा चौधरी र शेरबहादुर भट्टराई रहेका छन्। संस्थाका कार्यकारी प्रमुख कुमार याक्सोले सो जानकारी दिएका हुन्।

सभामा बोल्दै अध्यक्ष श्रेष्ठले कार्यक्रमको औचित्य स्पष्ट पार्दै संस्थाको वित्तीय तथा संस्थागत प्रगतिबारे जानकारी गराए। लेखा सुपरिवेक्षण समिति संयोजक मनकुमार बेघाले संस्थाको कारोवार पारदर्शी रहेको उल्लेख गर्दै कुनै प्रकारका बेथिति वा विसंगति नरहेको दाबी गरे।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष महेन्द्रप्रसाद चुँडाल, व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र सिटौला तथा एकाइगत साधारण सभाबाट छनोट भएका प्रतिनिधि हरिराज भट्टराई र विमला गौतम भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उपाध्यक्ष रामकुमार गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव भुपाल बस्नेतले सञ्चालन गरेका थिए।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्म कर्णाली साकोसमा ६० हजार ७५० जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी ५५ करोड ८५ लाख ३८ हजार रुपैयाँ पुगेको छ भने कुल बचत ३ अर्ब ४९ करोड ६८ लाख ४२ हजार ७९९ रुपैयाँ र कर्जा लगानी ३ अर्ब ८६ करोड ७८ लाख १० हजार ५६३ रुपैयाँ रहेको छ।

यसैगरी, जगेडा कोष १६ करोड ८२ लाख २७ हजार ४७२ रुपैयाँ, स्थिर सम्पत्ति ११ करोड ६ लाख ३७ हजार ३५३ रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षमा संस्थाले चार करोड ८ लाख १४ हजार ५०४ रुपैयाँ खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।

झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको कर्णाली साकोसले हाल ४१ वटा सेवा केन्द्रमार्फत सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here