जेनजी आन्दोलन : चिया बगानमा भेटिए लुटिएका हतियार, १६ नाल हतियार र ९०९१ राउण्ड गोली फेला पर्न बाँकी

0
14

झापा, जेनजी आन्दोलनका बेला लुटिएका हतियार एक पछि अर्काे फेला पर्न थालेका छन् । लुटिएका हतियार मध्ये अझैं १६ नाल हतियार र नौ हजार ९१ राउण्ड गोली फेला पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र वहादुर खड्काले जानकारी दिए । उनका अनुसार पछिल्लो समय इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका हतियार मध्ये म्याग्जिन र गोली बिर्तामोड–६ स्यालडाँगीस्थित चिया बगानमा बेवारिसे अवस्थामा फेला परेको छ ।
उनका अनुसार चिया बगानमा ईन्सास राइफलको एक थान म्याग्जिन र मार्का थ्री राइफलका तीन राउण्ड गोली (सावुत अवस्थामा) भेटिएको हो । स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले घटनास्थल पुगेर म्याग्जिन र गोली बरामद गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनीको जिन्सी भण्डार कक्षबाट लुटेर लगिएका हातहतियारसँग मेल खाने अभिलेख फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले हाल उक्त हातहतियार कसरी, किन र कसले चिया बगानमा ल्याएर छाडेको भन्नेबारे अनुसन्धान अघि बढाएको छ । जेनजी आन्दोलनपछि लुटिएका हतियारहरू क्रमशः फेला परिरहे पनि सबै सामग्री अझै बरामद भइनसकेको डीएसपी खड्काको भनाई छ ।
सुरक्षा संवेदनशील हतियार सार्वजनिक स्थानमा फेला पर्नुले आन्दोलनका बेला भएको क्षतिको असर अझै पूर्ण रूपमा व्यवस्थापन हुन नसकेको संकेत दिएको भन्दै प्रहरीले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here