लक्ष्मी सहकारीमा बस्नेत–पोद्धार–मल्लको ह्याट्रिक

0
82

झापा, बिर्तामोडमा मुख्य कार्यालय रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले २९ औँ वार्षिक साधारण सभामार्फत नेतृत्वमा निरन्तरता र संरचनात्मक पुस्तान्तरण दुवैलाई सन्तुलित रूपमा अघि बढाएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः लीलाबहादुर बस्नेत, भगिरथ पोद्धार र सन्देश मल्ल पुनः निर्वाचित हुँदै ‘ह्याट्रिक’ पूरा गरेका छन् ।
सम्पन्न साधारण सभाले संस्थाको आगामी चार वर्षे कार्यकालका लागि ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिका संयोजक अधिवक्ता देवेन्द्र भण्डारीले नवनिर्वाचित समितिहरूको नाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका छन् ।
अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष बस्नेत, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रोशन दाहाल र आगामी वर्षको बजेट सचिव मल्लले प्रस्तुत गरेका थिए ।
२०५३ साल साउन ३ गते २८ जना शेयर सदस्यको सक्रियतामा स्थापना भएको संस्थामा २०८२ असार मसान्तसम्म ३ हजार १९४ जना शेयर सदस्य रहेका छन् । निस्क्रिय सदस्य हटाइएकाले शेयर पूँजी ३ करोड २६ लाख रुपैयाँबाट घटेर ३ करोड २१ लाख रुपैयाँमा झरेको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा संस्थाले ४१ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३७ करोड ८३ लाख रुपैयाँ ऋण लगानी गरेको छ । समीक्षा अवधिमा ५ करोड ८ लाख रुपैयाँ आम्दानी गर्दै १ करोड २१ लाख रुपैयाँ करअघिको नाफा आर्जन गर्न सफल भएको संस्थाले जनाएको छ ।
साधारण सभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने १३ जना शेयर सदस्यलाई जनही ३ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीतर्फ कार्यालयभित्रबाट लक्ष्मीदेवी भट्टराई र बजार प्रतिनिधिबाट वर्षा कार्की सम्मानित भए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष डा. रूपक खनालले लक्ष्मी बहुउद्देश्यीय सहकारीलाई जिल्लाकै दोस्रो पुरानो सहकारीका रूपमा चिनाउँदै नेतृत्वमा पुस्तान्तरणको अभ्यास यही संस्थाबाट सुरु भएको दाबी गरे । “सहकारीबाट लिएको ऋण आफ्नै सदस्यको बचत हो, तिर्नु पर्दैन भन्ने भ्रममा नपर्नुस्,” उनले सदस्यहरूलाई आग्रह गर्नुभयो ।
निवर्तमान अध्यक्ष चन्द्रकुमार राजभण्डारीले सञ्चालकहरू प्रायः बुद्धिजीवी र अनुभवी भएकाले सदस्यहरूको बचत सुरक्षित रहेकोमा ढुक्क रहन आग्रह गरे ।
नयाँ नेतृत्व चयनसँगै निवर्तमान सञ्चालक सदस्य सरस्वती भूर्तेल खनाल कोषाध्यक्षमा पदोन्नति भएकी छिन् । निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक रोशन दाहाल र सदस्य लक्ष्मी ढकाल सञ्चालक समितिमा प्रवेश गरेका छन् भने हेमन्त सुवेदी लेखा सुपरीवेक्षण समिति संयोबनेका छन् ।
यसैगरी सञ्चालक सदस्यहरूमा रमेश थापा मगर, बिक्रम राजभण्डारी र नारायण ओझा चयन हुनुभएको छ । लेखा सुपरीवेक्षण समितिमा प्रेम थापा निरन्तर रहँदा दुर्गादेवी दाहाल नयाँ सदस्यका रूपमा चयन भएका छन् । निवर्तमान कोषाध्यक्ष दीपककुमार प्रधान र सञ्चालक सदस्य देवी सापकोटाले भने जिम्मेवारीबाट विदा लिएका छन् ।
नेतृत्वमा निरन्तरता, व्यवस्थापनमा सुधार र आर्थिक सूचकमा स्थायित्व देखिएको लक्ष्मी बहुउद्देश्यीय सहकारीलाई आगामी कार्यकाल थप चुनौतीपूर्ण र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here