बिर्तामोड । सहिद नेत्र पार्क खेल मैदानमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा वडा नं. ३ ले वडा नं. ९ लाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
वडा नं. ३ को जितमा आशिष चापागाईं नायक बने । उनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा थप दुई गोल गर्दै ह्याट्रिकभन्दा एक गोल बढी प्रदर्शन गरे । वडा नं. ९ का राम मर्डीले खेलको अन्त्यतिर सान्त्वना गोल फर्काए ।
उत्कृष्ट प्रदर्शनका कारण वडा नं. ३ का आशिष चापागाईं ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मंगलबार वडा नं. २ र वडा नं. २० बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यसैबीच, सोही मैदानमा सोमबार सम्पन्न दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा पनि वडा नं. ३ सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल खेलमा वडा नं. ३ ले वडा नं. ९ लाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
वडा नं. ३ का लागि बिष्णु सुब्बा, पदम बस्नेत र किशोर ओलीले समान एक–एक गोल गरे । वडा नं. ९ का उमेश राई र राजन मगरले गोल गरेका थिए । खेलको ‘प्लेयर अफ द म्याच’ पहिलो गोलकर्ता बिष्णु सुब्बा घोषित भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।
भेट्रान्स प्रतियोगिताअन्तर्गत मंगलबार क्वाटरफाइनल खेल वडा नं. २ र वडा नं. १० बीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।































