पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले एस.ई.ई. तथा एस.एल.सी. परीक्षा तयारीलाई लक्षित गर्दै विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक तालिम सञ्चालन गरेको छ।
विद्यालयले “Exam Boost Up cum Goal Setting Seminar” शीर्षकमा आयोजना गरेको उक्त कार्यक्रम आज बिहान कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि तथा दिउँसो कक्षा ९ र १० का विद्यार्थीहरूका लागि सञ्चालन गरिएको थियो।
कार्यक्रममा नेपालका चर्चित पीस एजुकेसनका फाउन्डर तथा सीईओ एवं उत्प्रेरक प्रशिक्षक ईश्वर श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा निरन्तरता, स्पष्ट लक्ष्य निर्धारण, अनुशासन र संस्कारमार्फत उत्कृष्ट नतिजा हासिल गर्दै उज्यालो भविष्य निर्माण गर्न प्रेरित गर्नुभएको थियो। उहाँले मेहनत, सकारात्मक सोच र आत्मविश्वास नै सफलताको आधार भएको उल्लेख गर्नुभयो।
ब्रिटिस काउन्सिलद्वारा अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त उक्त विद्यालयका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ८ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रम विद्यार्थीहरूका लागि निकै प्रेरणादायी बनेको विद्यालयले जनाएको छ।































