माघको अन्तिम सातादेखि एचपिभी खोप अभियान

0
27

काठमाडौँ, सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ। नियमित राष्ट्रिय खोप तालिकाअनुसार खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले अभियानका लागि करिब सम्पूर्ण तयारी पूरा भएको बताए।

उनका अनुसार निर्वाचन र चाडपर्वका कारण केही चुनौती देखिए पनि माघको अन्तिम सातादेखि सुरु गरी फागुनको पहिलो सातासम्म अभियान सम्पन्न गर्ने योजना छ। अभियानको मिति र थप विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरी खोप दिइनेछ। गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई एचपिभी खोप दिइएको थियो। अघिल्लो वर्ष दुई मात्रा दिइएकामा यस वर्ष भने एक मात्रा मात्र दिने निर्णय गरिएको हो।

“वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिको सिफारिसअनुसार एक मात्राको खोप पनि प्रभावकारी हुने पुष्टि भएपछि यसपटक एक मात्रा मात्र दिन लागेका हौँ,” डा. गौतमले भने, “भ्रम र गलत सूचनामा नपरी ढुक्क भएर खोप लगाउन आग्रह छ।”

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा औसतमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो प्रमुख क्यान्सर भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने कारणमध्ये पहिलो स्थानमा रहेको छ। पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपिभी सङ्क्रमण हो।

हाल सरकारले १४ रोगविरुद्ध ११ प्रकारका खोप उपलब्ध गराउँदै आएको छ। खोप कभरेजको हिसाबले नेपालले उल्लेखनीय प्रगति गरेको मन्त्रालयको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here