बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान सरकारको असंवैधानिक गतिविधिविरुद्ध खबरदारी कार्यक्रम घोषणा गरेको छ। पार्टीको जिल्ला कार्यालय बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमार्फत एमाले झापाले कार्यक्रमको औपचारिक जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारले लोकतान्त्रिक मूल्य–मान्यता विपरीत गतिविधि गरिरहेको आरोप लगाए। सरकारका असंवैधानिक हर्कतविरुद्ध जनतालाई सचेत गराउने उद्देश्यसहित खबरदारी कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए। पुस १० गते बिर्तामोड र दमकमा एकसाथ खबरदारी कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष गिरीले जानकारी दिए।
अध्यक्ष गिरीले वर्तमान सरकारले ‘अँध्यारो कोठामा बसेर षड्यन्त्र रचेको’ दाबी गर्दै त्यसको भण्डाफोर गर्दै जनतालाई सचेत गराउन एमाले सडकमा उत्रिन लागेको बताए। उनले लोकतान्त्रिक शक्तिहरूलाई समेत खबरदारी कार्यक्रममा सहभागी हुन आह्वान गरे।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरूविरुद्ध बहानाबाजी, षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै प्रतिगामी तत्वहरूको षड्यन्त्रलाई मुकदर्शक बनेर सहन नसकिने स्पष्ट पारे। लोकतन्त्रको रक्षाका लागि अब लोकतान्त्रिक शक्तिहरू सरकारका सबै खाले षड्यन्त्रविरुद्ध सडकमा आउनुपर्ने उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा पार्टीले पालिका, वडा र टोलस्तरसम्म सुरक्षा समिति परिचालन गर्ने निर्णय गरेको जानकारी दिइयो। कसैमाथि आक्रमण नगर्ने तर प्रतिगामी सत्ता र विदेशी दलालहरूबाट हुन सक्ने हुलहुज्जतको प्रतिरक्षा गर्न गाउँ–गाउँ र बस्ती–बस्तीमा सतर्क रहन पार्टीले अपिल गरेको छ।
एमाले झापाले आगामी दिनमा चरणबद्ध रूपमा विविध प्रदर्शनका कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ। जारी विज्ञप्तिमा गत भदौ २४ गते भएको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरूको लामो योजनाको परिणाम भएको दाबी गरिएको छ।






























