उद्यमशीलताको उदाहरण

0
33

वैदिक सनातन हिन्दू धर्म अन्तर्गत लाख बत्ती वा लक्ष्यबर्ती बाल्ने परम्परा छ । कुनै पनि धार्मिक कार्य जस्तै स्वस्थानी पूजा, भागवत एकाह वा सप्ताह अथवा कुनै विशेष पर्वमा साँझ एक लाख बत्ती बाल्ने गरिन्छ । लाख बत्ती एउटा महत्वपूर्ण धार्मिक अनुष्ठान हो जसका माध्यमबाट देवीदेवताको आराधना गरिन्छ । लाख बत्ती बाल्नुको उद्देश्य स्वास्थ्य, समृद्धि, शान्ति लगायत आ–आफ्नो मनोकामना पूरा होस् भन्ने नै हो । यसो गर्नाले स्वस्थ रहिन्छ, शान्ति, समृद्धि प्राप्त हुन्छ, धार्मिक ऊर्जा प्राप्त हुन्छ, नजानी गरिएका पाप कर्मबाट मुक्ति पाइन्छ र जीनवमा सकारात्मक परिवर्तन आउँछ भन्ने विश्वास रहेको छ । श्रद्धा, भक्ति र निष्ठापूर्वक गरिएको यस्तो कार्यले आत्मा समेत शुद्ध हुन्छ भन्ने मान्यता पनि छ ।

लाख बत्ती हिन्दूहरुको सांस्कृतिक समारोह पनि हो । वैदिक शास्त्रका अनुसार लाख बत्तीको संस्कारले चित्त शुद्ध पार्ने मात्र होइन स्वर्गमा पुग्ने र बस्ने बाटो र स्थान सुरक्षित हुन्छ । एकै पटक बालिएको सहस्र दीपले हामीभित्रको अशुद्धता र अज्ञानता हटाउँछ भन्ने धार्मिक मान्यता पनि छ । विगतमा विशेष पर्व वा उत्सवमा बालिने लाख बत्ती घर–घर मै तयार गरिन्थ्यो । आमा, हजुरआमा र भाउजू–बुहारी घरको काम सकेर बाती कात्ने चलन थियो । तर, आज समाज र पारिवारिक व्यवस्था बद्लिएको छ । बृहत वा संयुक्त पारिवारिक ढाँचा बद्लिएको छ । जसको कारण समूहले गर्ने काम कम र एकल ढाँचाको परिवार बढ्ने क्रममा छ । अझ भौतिक तथा प्रविधिमा आएको परिवर्तनले यस्ता अनुष्ठानहरु कम हुँदै जान थालेका छन् । खासगरी मृत्युको एक वर्षपछि पारिवारिक शान्ति र पितृमोक्षको कामनासहित लगाइने सप्ताह पनि घटेको छ ।

खण्डित परिवारको ढाँचाले लाख बत्ती बनाउन कठिन हुने परिस्थितिमा बर्षौंदेखि तयारी गर्नुपर्ने अवस्थामा झापा बिर्तामोडकी दुर्गादेवी रिजालले आधुनिक प्रविधिको माध्यमले सहज बनाएकी छन् । बिर्तामोड–५ मा पाँच लाख लगानी गरेर शुरु गरेको पूजा सामग्री उद्योग अहिले यस्तो कार्यका लागि मुख्य आधार बनिएको छ । उनको उद्योगले लाख बत्तीसँगै, ब्रतबन्धको पोशाक, चँदुवा, काँचो धागो लगायतका सामग्री निर्माण गर्दैछ ।

शुरु–शुरुमा बजार नपाएर छट्पटिनुपर्ने परिस्थितिमा पनि श्रीमान मधुसुधनको साथ, हौसला, ऊर्जा र आँटले आज उनलाई विदेशमा समेत परिचित गराएको छ । बाती बनाएरै जीवन निर्वाह सहज भएको उनले पाँच जनालाई समेत रोजगार दिएकी छन् । उनको लगन, निरन्तरता, निष्ठा र समर्पण आज समाजको प्रेरणा बनेको छ । यसले महिलाहरु पनि सक्षम छन्, हुन्छन् र इच्छाशक्ति भए ईश्वरले पनि पूरा गर्छन् भन्ने पुष्टि भएको छ । उद्यमशीलताको उदाहरण बनेकी दुर्गादेवी रिजालको आँट, धैर्य र आत्मविश्वास अरुहरुका लागि समेत प्रेरणादायी हुन सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here