झापा । समुन्न्त नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले मुलुकलाई आर्थिक विकासतर्फ डोर्याउन नसकेको आरोप लगाएका छन्। उनले आज झापाको बिर्तामोडमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपाल उल्टै भ्रष्टाचारको सूचीमा शीर्षस्थानमा पुगेको बताए।
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका खनालले समग्र नेपालको सुरक्षा र विकाससँगै लैजाने उद्देश्यसहित समुन्न्त नेपाल पार्टीको गठन गरिएको बताए। उनले भने, “हिजो दुई ठूला दल मिलेर सरकार बनाएका थिए। उनीहरूको एउटै स्वर थियो–मुलुकलाई निकास दिने। तर खै? संविधान संशोधन गरेर भएपनि आर्थिक विकास गर्नु पर्थ्यो। तर गठबन्धनले त्यसो गरेन। ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले नेपाललाई भ्रष्ट मुलुकको सूचीमा राखेको छ। नेपाल अहिले मान्छे बेचविखन गर्ने मुलुकको सूचीमा पनि परेको छ। भिषा पाउन विदेश जान गाह्रो भएको अवस्था छ।”
खनालले थपे, “ठूला दलले मुलुकलाई निकास दिन नसकेपछि देश जर्जर हुँदै गएको छ। यसकै परिणाम स्वरुप नयाँ शक्तिको उदय भइरहेको छ। मुलुकलाई सही दिशामा डम्याउने नयाँ–नयाँ पार्टीको उदय भैरहेको छ।”
विगतका आन्दोलन र प्रजातान्त्रिक प्रक्रियाको समीक्षा गर्दै खनालले भने, “विभिन्न कालखण्डमा आन्दोलन भए, प्रजातन्त्रदेखि गणतन्त्र स्थापना भयो। तर जनताको मूल्य र मान्यता स्थायित्वमा आएन। विकास र समृद्धिको हिसाबले आज मुलुक दक्षिण एसियामा मात्र होइन, विश्वमै लज्जाजनक स्थिति भोगिरहेको छ। ऋण लिएर कर्मचारीको तलब दिनुपर्ने अवस्था सिर्जना भयो। यो सबै ठूला दलको अकर्मण्यताको प्रतिफल हो।”
संविधान निर्माण र कार्यान्वयनमा नेताहरूको नियतप्रति प्रश्न उठाउँदै उनले भने, “विश्वकै उत्कृष्ट संविधान लेखियो। तर कार्यान्वयन गर्ने क्षमता नेतामा देखिएन। उनीहरू सधैं आफ्नै शासन सृजना गर्न खोजे। जसको परिणाम जेनजी आन्दोलनले देखाइदियो। तर नेताहरूको चेत अझै खुलेको छैन।”





























