झापा । चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका विद्यार्थीहरू युवा वैज्ञानिक शिखर सम्मेलन–२०८२ मा सहभागी हुन काठमाडौँ प्रस्थान गरेका छन्। 
विद्यार्थीहरूको बिदाइका अवसरमा विद्यालय परिसरमा अभिभावकसहित कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालय बाल क्लबका अध्यक्ष अब्निल मागादे, विद्यालयको रोबोटिक्स तथा प्रविधि क्लबका अध्यक्ष कृष राई, सचिव जोस्ना कार्की लगायतले विद्यार्थीहरूलाई खादा–माला लगाइ शुभकामना दिँदै विदाइ गरेका थिए। गत वर्ष ताइवानमा उत्कृष्ट अनुसन्धान परियोजना प्रस्तुत गरी यही सम्मेलनमा सम्मानित हुन लागेकी विद्यार्थी पल्पसा श्रेष्ठले पनि सहभागी विद्यार्थीहरूलाई सफलताको कामना गरिन्।
नेपालको आधिकारिक तथा अन्तर्राष्ट्रिय रासायनिक सङ्घद्वारा मान्यता प्राप्त नेपाल पोलिमर प्रतिष्ठान र नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ तथा प्रविधिको संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलनको दसौँ संस्करण आज पुस ११ र १२ गते ललितपुरको कुपन्डोलस्थित नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ तथा प्रविधि क्याम्पसमा हुँदैछ।
देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूको सहभागितामा आयोजना हुने यस सम्मेलनको उद्देश्य युवालाई अनुसन्धान, वैज्ञानिक संवाद, नवप्रवर्तन र समस्या समाधान प्रक्रियामा सक्रिय बनाउनु रहेको आयोजकले जनाएको छ।
चिल्ड्रेन इन्भारोमेन्ट स्कुलबाट सहभागी हर्ष धिमाल र कृष्ण अग्रवालले कम्प्युटर विज्ञान तथा कृत्रिम बुद्धिमत्ता विधाअन्तर्गत स्थानीय सञ्जालमा आधारित विद्यार्थी परीक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन्। यस्तै, पल लिम्बू र जेनिशा मेन्याङ्बोले रासायनिक तथा वातावरण विज्ञान विधाअन्तर्गत ‘झापामा भू–आवरण परिवर्तनले सतह तापक्रममा पारेको प्रभाव ९सन् १९९५–२०२५०’ विषयक अनुसन्धान परियोजना प्रस्तुत गर्ने तयारी गरेका छन्।
सम्मेलनमा भौतिक विज्ञान, गणित, इन्जिनियरिङ तथा रोबोटिक्स, कम्प्युटर विज्ञान तथा कृत्रिम बुद्धिमत्ता, रासायनिक तथा वातावरण विज्ञान, जीव विज्ञान, स्वदेशी ज्ञान र स्थानीय प्रविधि विषयमा आधारित परियोजनाहरू प्रस्तुत गरिनेछन्। प्रस्तुत परियोजनाको मूल्यांकन नवीनता, अनुसन्धानको मौलिकता, वैज्ञानिक विधि र प्रस्तुतीकरणका आधारमा गरिने आयोजक संस्थाले जनाएको छ।
उत्कृष्ट परियोजना प्रस्तुत गर्ने सहभागीलाई ‘युवा वैज्ञानिक’ उपाधि, प्रमाणपत्र तथा पदक प्रदान गरिनेछ। साथै, विजयी विद्यार्थीहरूले थाइल्याण्डमा आयोजना हुने एशिया–प्रशान्त युवा वैज्ञानिक सम्मेलन–२०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
विद्यालयका विद्यार्थीहरूले यसअघि भारतको नोएडामा आयोजित अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगितामा नेपालको तर्फबाट रोबोट दौड र रेडियो नियन्त्रित विमान प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। साथै, आगामी जनवरीमा भारतको पटना स्थित भारतीय प्रविधि संस्थानमा आयोजना हुने रोबोटिक्स प्रतियोगितामा रोबोट दौड र रोबो सकर विधामा समेत छनोट भइसकेको विद्यालयले जनाएको छ।
चिल्ड्रेन इन्भारोमेन्ट स्कुलमा रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता पाठ्यक्रमअन्तर्गत इन्जिनियर राजकुमार चौरासिया, इन्जिनियर दिवश खनाल, इन्जिनियर सिद्धार्थ यादव, शुभम हमाल, जयराम चौलागाईं र सागर सिटौलाको नेतृत्वमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान हुँदै आएको छ। गत वर्ष पनि विद्यालयका विद्यार्थीहरूले राष्ट्रिय स्तरको सम्मेलनमा उत्कृष्ट परियोजना प्रस्तुत गर्दै नेपालको प्रतिनिधित्व गरी ताइवान पुगेर उल्लेखनीय सफलता हासिल गरेका थिए।
यस वर्षको सम्मेलनमा गत साल ताइवानमा उत्कृष्ट परियोजना प्रस्तुत गरेका चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका पल लिम्बू र पल्पसा श्रेष्ठलाई आयोजक संस्थाले विशेष सम्मान गर्ने कार्यक्रमसमेत रहेको विद्यालयले जनाएको छ।































