हाम्रो नेपाल साकोसको १३औँ वार्षिक साधारणसभा सम्पन्न

0
94

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ।

१३औँ वार्षिक साधारणसभाअन्तर्गत गत मङ्सिर २९ देखि पुस ७ गतेसम्म सम्पन्न सातवटा एकाइगत सभाबाट छनोट भएका २१ जना प्रतिनिधि शेयर सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति, लेखा समिति तथा कर्मचारीहरूको उपस्थितिमा बिर्तामोडस्थित आदर्श ब्याङ्केटमा साधारणसभा तथा माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरिएको हो।

उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सभाले चालू आर्थिक वर्षका लागि वार्षिक कार्ययोजना तथा बजेट पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८१र०८२ का लागि सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा ऋण उपसमितिको प्रतिवेदन अनुमोदन गरेको छ।

सभामा सञ्चालक समिति सदस्य कृष्ण प्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने विभिन्न सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजकहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वर प्रसाद लामिछानेले गरेका थिए।

सभालाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष गौतमले नियमनकारी निकायका निर्देशनलाई संस्थागत सुधारको अवसरका रूपमा लिइएको उल्लेख गरे। सदस्यको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै पारदर्शिता र सुशासन संस्थाको प्रमुख लक्ष्य भएको उनको भनाइ थियो।

१३औँ वार्षिक प्रतिवेदनअनुसार ३९ हजार १०५ सदस्य आबद्ध संस्थाको कुल कारोबार २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ। संस्थाले १ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ। यस्तै, सदस्यहरूको हितका लागि १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत तथा सुविधा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका व्यवस्थापक सरोज दाहालका अनुसार सातवटै एकाइगत सभाको समापनसँगै १३औँ वार्षिक साधारणसभाका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन्। झापा, मोरङ र इलामका ३१ सेवाकेन्द्रमार्फत सेवा दिँदै आएको संस्थाले आर्थिक चुनौतीका बाबजुद पारदर्शिता र सुशासनका कारण सदस्यको विश्वास कायम राख्न सफल भएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here