समृद्धिको आधार जडिबुटी

0
26

आयुर्वेदिक उपचारप्रति नागरिक समाजको आकर्षण बढ्नु हाम्रा लागि सुखद् अवस्था हो । नेपाल, भारत, श्रीलंका लगायतका दक्षिण एशियाली देशहरुमा आयुर्वेदिक उपचार पद्धति प्राचीन समयदेखि नै प्रचलित छ । हाल यो पद्धतिको उपचार विश्वभरी नै प्रख्यात हुँदै आएको छ । वैदिक सनातन हिन्दू धर्म र मान्यता अनुसार भगवान ब्रह्मा आयुर्वेदिक ज्ञानका मूल स्रोत हुन् । यही ज्ञान दक्ष प्रजाति, अश्विनी कुमारहरु हुँदै पुस्तान्तरण हुँदै धनवन्तरीलाई प्रदान गरेको धार्मिक मान्यता छ । व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगी व्यक्तिको रोगलाई निर्मूल गर्नु आयुर्वेदिक उद्देश्य रहेका छन् । दक्षिण एशियाको मौलिक एवम् विशिष्ट उपचार पद्धति भएर पनि व्यवस्थापन र नीतिगत कमजोरीका कारण घटेको आकर्षण अहिले क्रमशः बढ्दै गएको छ ।

आयुर्वेद निरोगी हुने जीवन पद्धति हो । रोग लाग्ने मुख्य कारण खानपान र जीवनशैली भएकाले त्यसप्रतिको सजगताले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ । अहिले देशभर आयुर्वेदिक उपचारप्रति जनविश्वास बढेको छ । खासगरी कोभिड महामारीका समयमा यसको उपचारबाट भएको लाभका कारण आयुर्वेदिक उपचारप्रतिको आकर्षण बढेको घटना, सूचना र समाचारहरुले देखाएका छन् । रोग निको हुने, कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाउने भएपछि बिरामीको आकर्षण र चाप बढेको आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुले जनाएका छन् । सजिलो उपचार पद्धति, प्रभावकारी नतिजा र असरमुक्त विशेषताकै कारण आममानिसमा आयुर्वेदिक प्रति आकर्षण बढेको हो ।

भोजपुरका स्थानीयहरु यतिबेला एलोप्याथिक उपचारभन्दा आयुर्वेदिक उपचारमा आकर्षित भएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । हाल दैनिक एक सय जनासम्म बिरामी सेवा लिन जाने गरेको सो केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने, जन्डिस, ग्यास्ट्रिक, दम, हाडजोर्नीका बिरामीको संख्या बढ्न थालेको केन्द्रका प्रमुख नुतन महतोले जानकारी दिएका छन् । आधुनिक उपकरण समेत उपलब्ध भएपछि त्यसको प्रयोगले परीक्षण, पहिचान र प्रभावकारी सेवाले बिरामीको विश्वास बढेको हो । हिमाली देश नेपालका हरेक वनस्पतिमा औषधीय गुण हुन्छन्, तर तिनलाई पहिचान, प्रशोधन तथा प्रवद्र्धन गर्न नसक्दा हामी पछि परेका छौं । प्राकृतिक सम्पदाले समृद्ध देशको प्रमुख उपहार जडिबुटी नै हो । यसको माध्यमबाटै देशको दिगो विकास सुनिश्चित हुन्छ र यही उपचार पद्धतिले नागरिकलाई स्वस्थ राख्न सकिन्छ । त्यसैले संरक्षण, सम्बद्र्धन र विस्तारमा राज्यले अग्रसरता देखाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here